काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्याए ।
३७ औँ बीपी स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पारे ।
नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले बीपी कोइरालाले कम्युनिस्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताए । उनले बीपीको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे ।
कार्यक्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि बीपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गराएका थिए ।
तपाईको प्रतिक्रिया