काठमाडौं, ३ असोज । स्वतन्त्र राजनीतिक समूहका संयोजक तथा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले संविधान दिवस मनाउनुको औचित्य नरहेको बताएका छन् ।
उनले विश्वमा कहीं नभएको कुरा नेपालमा हुने गरेको बताउँदै भने, ‘कहीं पनि संविधान जारी भएको दिवसलाई पर्वको रूपमा मनाउँदैन । तर, नेपाल नै यस्तो देश हो जहाँ जे पनि हुने गरिन्छ ।’
उनले मधेशीको टाउको र छातीमा गोली हान्दै रगतबाट लेखिएको संविधान जारी भएको दिनलाई पर्वको रूपमा मनाउनु उपयुक्त नरहेको बताए ।
‘संविधानको ८२ ठाउँमा त्रुटिहरू रहेका छन् । यसलाई कार्यान्वयनका लागि संशोधन गर्नैपर्छ ।’ त्रिपाठीले भने, ‘नेपालको संविधानको प्रस्तावना सर्वग्राह्य छ, यसले वर्तमान नेपाली समाजको यथार्थ र चुनौतीलाई प्रतिविम्बित गरेको छ । राज्यका लागि यो मार्गनिर्देशक हुनु पर्दछ ।’
तर संविधानका कतिपय धाराहरूमा प्रस्तावनाको मूल भावनालाई समेट्न नसकेको जिकिर गरेका छन् । ‘कतिपय ठाउँहरूमा विद्यमान विभेद समाप्त गर्न जोड दिए तापनि सो अनुसारको थप कार्य हुन सकेको छैन । उदाहरणका लागि संविधानको भाग २७ मा उल्लेखित अन्य आयोगहहरूको प्रस्तावमा केही आयोगको काम कर्तव्य तथा अधिकारको व्यवस्था स्वयं संविधानमा नै उल्लेखित छ भने आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग तथा मुस्लिम आयोगको काम कर्तव्य तथा अधिकारको व्यवस्था सङ्घीय कानून बमोजिम हुने उल्लेख गरिएको छ ।’ उनले भने ।
मधेशवाणीसँग कुराकानी गर्दै त्रिपाठीले भने, ‘यसलाई मनोवैज्ञानिक समस्याको रूपमा बुझ्नु पर्छ । कहीं नियत ठीक छ भने कहीं नियत खराब छ । यो दृष्टान्त मात्र हो । संविधान कार्यान्वयन गर्नका लागि पनि कतिपय पारस्परिक विरोधी प्रावधानलाई संवैधानिक रूपले सच्याउनु आवश्यक छ ।’
त्यसैले, प्रस्तावनाको मूल भावना अनुरूप संविधानको परिमार्जन तथा संशोधनका लागि तयार रहनुले संविधान दीर्घायु हुने उनको दाबी छ ।
तपाईको प्रतिक्रिया