जनकपुरधाम, ८ साउन । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरण पछि गठन भएको समाजवादी पार्टीको मधेश प्रदेश समितिको अध्यक्षमा विजय यादव चयन भएका छन् ।
जनकपुरमा बुधबार आयोजित समायोजन सभामा प्रदेश समिति समायोजन कार्यदलका संयोजक, पार्टीका उपाध्यक्ष एवं प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले अध्यक्ष सहित ७० सदस्यीय नयाँ प्रदेश समितिको घोषणा गरेका हुन् ।
नवगठित कार्य समितिको उपाध्यक्षमा रामपृत पासवान, उर्मिला साह, सुशिल यादव चयन भएका छन् छ भने मुख्य सचिवमा शम्भु झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादव चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा रेणु यादव (सिरहा) चयन भएकी छिन् ।
समायोजित समितिमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको लहान अधिवेशन बाट निर्वाचित ५१ जना र नयाँ शक्ति बाट १९ जना रहेका छन् । पदाधिकारीहरुमा उपाध्यक्ष सुशिल यादव र सचिव राम कैलाश यादव नयाँ शक्तितर्फबाट चयन भएका छन् । अध्यक्ष सहितका अन्य पदाधिकारीहरु फोरमको कोटाबाट आएका छन् । ११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्ष सहित २९ सदस्यको पद खाली राखिएको छ ।
समायोजन समारोहमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संक्रमणकालमा रहेको मुलुकको निकासको लागि समुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताए । विश्वकै राजनीति परिदृश्यमा पुँजीवादी र साम्यवादी विचारधारा चरम संकटमा फँसेको उल्लेख गर्दै उनले त्यसको विकल्पमा आफुहरुले समुन्नत संघीय समाजवादलाई अघि सारेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले समाजमा अन्तरविरोध रहेसम्म संघर्ष जारी रहने उल्लेख गर्दै समावेशीता र संविधान विपरित आएको लोक सेवा आयोगको विज्ञापन विरुद्ध संघर्षको विकल्प नरहेको पनि बताए ।
कार्यक्रममा केन्द्रिय समिति अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको उल्लेख गदै त्यसका लागि थुप्रै पार्टीहरुसँग सकारात्मक छलफल चलिरहेको पनि बताए ।
उनले संघीय लोकतान्त्रिक व्यवस्थामा संसदीय सर्वोच्चता हुने भएपनि मुलुकमा संसदीय सर्वोच्चता माथि नै प्रहार भै रहेको हुँदा सचेत रहन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । आफुहरु संविधान संशोधनको सर्तमा सरकारमा सहभागी भएको उल्लेख गदै उपप्रधानमन्त्री समेत रहेका यादवले संविधान संशोधन नभए संघर्ष एक मात्र विकल्प रहने बताए ।
तपाईको प्रतिक्रिया