जनकपुर, २९ असोज । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहले संसद् सदस्यका रूपमा पाउने सेवासुविधा स्थगित भएको छ ।
संसद् सचिवालयले साह पक्राउ परेको जानकारीसम्बन्धी सूचना सूचनापत्रमा प्रकाशित गरेलगत्तै साहले सांसदका रूपमा गर्ने काम र पाउने सेवासुविधा स्थगित भएको हो ।
साह मंगलवार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रकाउ परेका थिए । उनीमाथि अनुसन्धानका लागि बुधवार जिल्ला अदालत धनुषाले ४ दिनको समय दिएको छ ।
कुनै पनि सदस्य पक्राउ परेको जानकारी सभाको अध्यक्षता गर्ने व्यक्तिले प्राप्त गरेमा सदन चालू रहेको अवस्थामा तत्काल सभालाई जानकारी गराउने र चालू नरहेको अवस्थामा सूचना प्रकाशित गरी जानकारी गराउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७५ को निमय २४४ उपनियम (१) र (२) मा उल्लेख छ ।
सूचनापत्रमा ‘प्रतिनिधि सभा नियमावलीको नियम २४४ उपनियम (३) को प्रयोजनका लागि’ भनिएको छ, जसमा सेवासुविधा स्थगित हुने कुरा उल्लेख छ ।
तपाईको प्रतिक्रिया