काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेशमलाल चौधरीको खुट्टामा नेल ठोकेर अस्पतालमा उपचार भइरहेको छ ।
मधेश÷थरुहट आन्दोलनका बेला टीकापुरमा भएको घटनाको अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेका सांसद चौधरीलाई अस्पतालमा समेत जंजिरले खुट्टा बाँधी उपचार भइरहेको छ ।
फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । सांसद चौधरीको स्वास्थ्य अवस्था एकदमै कमजोर देखिएको छ ।
टीकापुर घटनापश्चात् लगातार ३ वर्ष चौधरी भूमिगत भएका थिए । नेपाल प्रहरीले उनलाई समात्न सकेको थिएन । उनी आफै कैलाली जिल्ला अदालतमा उपस्थित भएर गिरफतारी दिएका हुन् ।
यता, राजपा नेपालले सांसद चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोप्रति आपत्ति जनाएको छ । राजपा अध्यक्षमण्डलका संयोजक अनिल कुमार झाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन् ।
संयोजक झाले भनेका छन्, ‘सांसद रेमशलाल चौधरी भागेर होइन, अभियोगको सामना गरेर आफु निर्दोष रहेको प्रमाणित गर्न न्यायिक हिरासतमा हुनुहुन्छ । तर उहाँलाई अस्पतालमा समेत गोडामा बेडी लगाएर राखिएको छ ।’
‘राजपा नेपालको संयोजकको हैसियतले मैले नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई फोन गरेर मानवीय, ओहदा र पदीय हैसियत र स्वयं गिरफतारी दिएको विश्वसनिय नेतालाई यस्तो व्यवहार नगर्न सुझाएको छु ।’ झाले मधेशवाणीलाई भने, ‘र, रेशम चौधरी विना बेडी अस्पतालमा राखिए नभाग्ने ग्यारेन्टी गरेको छु ।’
तपाईको प्रतिक्रिया