वीरगंज, २८ फागुन । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले पर्सा जिल्लाको विकासलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताएका छन् ।
सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वमा निर्माण हुन लागेको विवाह भवनको शिलान्यास गर्दै सांसद यादवले पर्सा जिल्लाको विकाशका लागि आफू कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
सांसद यादवले निर्माण हुन लागेको विवाह भवनले यस क्षेत्रका जनताका लागि विवाह, पुजा लगायत हरेक शुभ कार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विवाहका लागि ठूलाठूला होटेल बुक गर्दा विवाहमा लाग्ने ठूलो धनराशीको बचत हुने भएकाले यस विवाह भवनले यस क्षेत्रका जनताका लागि फाइदाजनक हुने बताए ।
पर्सा जिल्लाको विकासका लागि सबै राजनीतिक दल तथा सबै तहतप्काका व्यक्तिहरुको सहयोग आवश्यक रहेको बताए ।
पर्सा जिल्ला विकास निर्माणको सवालमा धेरै पछि परेको बताउँदै विभिन्न विकास निर्माण कार्यको ठेक्का साकार गरेर समयमै काम नगर्ने ठेकदारलाई सम्बन्धित निकायले दण्डित गरेर विकास निर्माणको कार्यलाई तीव्रगतिमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिए ।
विकास निर्माणका माध्यमले आफ्नो संसदीय क्षेत्रका जनताहरुसँग चुनावका बेला गरिएका वाचाहरु पूरा गर्दै गएकोमा खुशी व्यक्त गरे ।
सांसद यादवको संसदीय विकास पूर्वाधार कोषबाट २० लाखको लागतमा विवाह भवन निर्माण हुन लागेको हो । विवाह भवन शिलान्यास कार्यक्रममा फेरम नेपालका नेता, कार्यकर्ता तथा स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया