काठमाडौं २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं पञ्चवर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बताएका छन् ।
राष्ट्रिय विकास परिषद्को बैठकलाई बिहीबार समापन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो पञ्चवर्षीय योजना भएकोले यसले परिवर्तित सन्दर्भहरुलाई विशेष प्राथमिकता दिएर उठाएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यसै योजनाकालमा नेपालले अविकसित मुलुकको सुचीबाट विकासोन्मुख देशको सुचीमा पुग्ने बताए ।
“१५औं पञ्चवर्षीय योेजनामा नेपालले धेरै उपलब्धी हासिल गर्दछ । सबभन्दा ठूलो कुरा अविकसित देशको सुचीबाट हामी विकासोन्मुख देशमा परिणत हुनेछौं” प्रधानमन्त्री ओलीले भने “हाम्रो देशमा भएका शिक्षा, स्वास्थ्य, गरिबी, सुशासन आदिका क्षेत्रबाट अविकसित देशको ‘अ’ हटाउनेछौं । त्यसकारण यस योजनाले नेपालको परिचय बदल्दछ ।”
प्रधानमन्त्री ओलीले यही योजनाकालमा राष्ट्रिय उत्पादनमा ५० प्रतिशत वृद्धि गर्ने बताए । नेपालमा भएको शासन प्रणाली विश्वका उत्कृष्ट व्यवस्थामा पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“कतिपयले सरकारले अधिनायकवाद ल्याउँछ कि भन्छन् तर होइन यो सरकारले समाजवाद ल्याउँछ । समृद्धिसँगै सामाजिक न्याय र समानता उपलब्धी हुनसक्यो भने समाजवाद आउँछ” प्रधानमन्त्री ओलीले भने, “हामी राजनीतिक, आर्थिक, सामाजिक न्याय, समानता, उत्थान, विकास, मानव सुचकांक, वातवरणीय सजगता, साँस्ृकतिक चेतना हरेक दृष्टिकोणले देशलाई समृद्ध बनाउँदैछौं ।”
प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको १५औं पञ्चवर्षीय योजनाको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पास गरेको छ ।
तपाईको प्रतिक्रिया