कांग्रेस सभापतिका उम्मेद्वार निधिले खोले सम्पर्क कार्यालय

राजनीति

काठमाडौं, ११ भाद्र । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिको पदमा उम्मेद्वारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले काठमाडौं थापागाउँस्थित सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

निधिले कांग्रेसको आसन्न १४औं महाविधेशनको तयारीलाई तीव्रता दिएका छन् । सभापतिका प्रत्यासी निधिले सम्पर्क कार्यालय नै खोलेर पार्टी सभापति पदको लागि सशक्त दाबेदारी प्रस्तुत गरेका छन् ।

उनले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर बैंकटमा सम्पर्क कार्यालय खोलेका हुन् । उपसभापति निधिले सभापतिमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।

सम्पर्क कार्यालय खोलेर निधिले पार्टी सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने संकेत गरेका हुन ।

त्यस अवसरमा बोल्दै उपसभापति निधिले आगामी चुनावमा कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउनुपर्नेमा जोड दिए । यसैका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उनले बताए ।

‘आगामी निर्वाचनमा रुखलाई पहिलो बनाउन नै मैले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हु ँ। रुख छाप हामी सबै नेपाली जनताको हो । म आममतदातालाई भन्न चाहन्छु कि, रु ख छापले मात्र नेपाली जनताको भलो गर्नसक्छ’, निधिले भने ।

कार्यतालिकाअनुसार अधिवेशन सुरु हुनुपूर्व नै निधिले सभापतिका लागि उम्मेदवारी दिने दोहो¥याएका हुन् । यसैको तयारीस्वरूप उनले सम्पर्क कार्यालय खोलेका हुन ।

सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकाले तयारीमा लाग्न सम्पर्क कार्यालय खोल्न लागेको निधिले जानकारी गराए ।

उनले सभापति शेरबहादुर देउवालाई समेत आफूले उम्मेदवारी दिने जानकारी गराइसकेका छन् । तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न र आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् ।

पार्टीका पूर्व महामन्त्री महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्रले जननायक वीपी कोइराला पुत्र एवम् कांग्रेस महामन्त्री डा. शशांक कोइराला तथा लौहपुरुष गणेशमान सिंहका पुत्र एवम् कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहसँग पनि चुनावी तालमेलका लागि छलफल गरिसकेका छन् ।

उनीहरुले सबै सम्पर्क कार्यालय खोलिसकेका छन् । १३ औं महाधिवेशनका सभापतिमा उम्मेदवार कृष्ण सिटौलाले गौशालामा, महामन्त्री डा. शशांक कोइरालाले महाराजगञ्जमा, वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा, प्रकाशमान सिंहले बानेश्वरमा तथा केन्द्रीय सदस्य डा.शेखर कोइरालाले अनामनगर र विशालनगरमा सम्पर्क कार्यालय खोलिसकेका छन् ।

दोस्रो पटक सभापति बन्ने योजनाका साथ अगाडि बढेका देउवाको सम्पर्क कार्यालय पार्टी मुख्यालय वीपीनगरमै रहेको छ ।

मंसिरमा काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि यही भदौ १८ गतेदेखि स्थानीय तहदेखि महाधिवेशन कार्यक्रम शुरु हुँदैछ ।

तर जिल्ला सभापतिहरु कांग्रेस मुख्यालय वीपीनगर बल्खुमा गत बुधबारदेखि रिले अनसनमा रहेकाले निर्धारित मितिमै महाधिवेशनको कार्यक्रम शुरु हुनेमा आशंका व्यक्त गरिएको छ ।

असन्तुष्ट जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले संस्थापनले विभिन्न जिल्लामा घोटाला गरेको आरोप लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ