जनकपुरधाम, २० भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार भएको आरोप लगाएका छन् ।
प्रदेश २ को जसपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले लोसपा दल नभएका कारण यसबाट देश र जनताको भलो नहुने टिप्पणी गरे ।
तत्कालीन राजपा र तत्कालीन समाजवादी पार्टीबीच एकीकरण भई गठन भएको जसपामा अझै पनि पूर्व राजपाका ८० प्रतिशत नेता कार्यकर्ता रहेको भन्दै उनले नेपालको राजनीतिमा महत्वपूर्ण ठाउँ ओगटेको जसपालाई बेवास्ता गरेर कोही अगाडी बढ्न नसक्ने बताए ।
उनले भने, ‘अब देशको राजनीतिक दिशानिर्देश जसपाले गर्ने छ ।’ हरेक ठाउँमा जसपासँग साझेदारी गरेरमात्र कुनै पनि राजनीतिक शक्ति अगाडि बढ्न सक्ने गरी आफ्नो पार्टी स्थापित भएको उनले बताए ।
अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको लोसपा कदापि राजनीतिक शक्ति बन्न नसक्ने दाबी गरे । लोसपाले मधेशमा लोभ, लालच र भ्रमको खेती गरिरहेको आरोप लगाउँदै उनले भने, ‘जुन दिन महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका केही नेताहरु केपी शर्मा ओलीको पछि लागे, त्यस दिन नै उनीहरूको पतन भइसक्यो ।’
लोसपाका पक्षमा आफ्ना केही प्रदेशसभा सदस्यहरूले सनाखत गर्न थालेपछि प्रदेश सांसदहरूको परीक्षण गर्न जसपाले संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा संगठन सुदृढीकरण, प्रदेश २ सरकारको समीक्षा एवं जनजागरण अभियान लगायतका विषयमा छलफल हुनका साथै सांसदहरुको गुनासोलाई पनि सुन्ने पहल भएको थियो ।
जसपाको प्रदेश २ संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा अधिकांश प्रदेश सांसदले प्रदेश सरकारको कार्य शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई आफ्नो गतिविधि सुधार्न र कमी कमजोरीहरूलाई आत्मसात गर्न सुझाव दिएका थिए ।
बैठकमा जसपाका नेताहरु महेन्द्र राय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, रेणु यादव लगायत पार्टीका कार्यकारिणी सदस्य तथा प्रदेश सांसदहरूको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया