जसपामा चिरा परेको संकेत

राजनीति

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा)मा चुलिएको विवाद उत्कर्षमा पुगेको छ । फुटको संघारमा पुग्न लागेको पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढदै गएको छ ।

पार्टीमा आआफ्नो बहुमत सिद्ध गर्न यादव र भट्टराईबीच प्रतिस्पर्धा नै चलेको छ । बहुमत सिद्ध गर्न भट्टराई पक्षले हस्ताक्षर अभियान जारी राखेका छन् । पार्टीमा देखिएको समस्याबारे छलफलका लागि जसपाका अध्यक्ष यादवले शुक्रबार कार्यकारिणी समितिको बैठक बोलाएका छन् तर भट्टराईले अझै हस्ताक्षर अभियानलाई निरन्तरता दिइरहेका छन् ।

भट्टराई पक्षधरले पार्टीअध्यक्ष यादव राष्ट्रिय मूलधारको राजनीतिमा आइपुग्दा पनि मधेसमा मात्रै सिमीत भएकाले पनि पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । त्यस्तै डा. भट्टराई पक्षले समावेशी र सामूहिक नेतृत्वको कुरा गर्दा यादवले भने नेतृत्व केन्द्रीकरण गर्न चाहेकाले यसले वैचारिक विवाद सुरु भएको तर्क गर्छन् ।

पार्टीबाट पठाएको मन्त्री समावेशी नभएको तथा अन्य नियुक्ति तथा मनोनयनहरु समावेशी नभएको गुनासो भट्टराई पक्षको गुनासो छ । पार्टीको विधानमा दुईजना अध्यक्षको व्यवस्था भएअनुसार अर्को अध्यक्षमा अशोक राईलाई राख्न पनि सो पक्षले माग गरेको छ ।

कतिपय नेताहरुले भट्टराई पक्षको हस्ताक्षर संकलनलाई पार्टी फुटको प्रारम्भ विन्दु भएको बताउँछन् । केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन पार्टी विभाजनका लागि हो कि भन्ने प्रश्न पनि गर्न थालेका छन् ।

हालसम्म कति जनाले हस्ताक्षर गरे भन्ने भट्टराई पक्षले खुलाएका छैनन् । तर धेरै केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेको दाबी छ ।

हस्ताक्षर संकलनले पार्टीमा विभिन्न शंका उब्जाएको छ । यसले विभाजनतर्फ जान लागेको पनि शंका गर्न थालिएको छ ।

विगतमा पनि यस्तै हस्ताक्षर भएका कारण पार्टी विभाजन भएको थियो । भट्टराई पक्षका एक नेताले भने, ‘पार्टी एक रहने कि नरहने कुरा शुक्रबार बस्ने कार्यकारिणी समितिको बैठकबाट टुङ्गो लाग्छ ।’

कार्यकारिणी बैठक आज

जसपाले एमसीसीबारे आधिकारिक धारणा तय गर्नका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

संसदमा एमसीसी टेबुल भइसकेको र मत विभाजनका क्रममा पक्ष वा विपक्षमा लाग्नुपर्ने भएपछि पार्टीको आधिकारीक धारणा तय गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो । अध्यक्ष उपेन्द्र यादवले शुक्रबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन् । बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बस्नेछ ।

केन्द्रीय कार्यकारिणी समितिमा मुख्यगरी एमसीसीमा पार्टीको धारणा के हुने भन्ने रहेको बताइएको छ । त्यसका अलवा विधान अधिवेशनको मिति तोक्ने, सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा, गठबन्धनमा पार्टीको भूमिकाको समीक्षा र भाबी रणनीति तथा स्थानीय निर्वाचनको तयारीबारे छलफल हुने भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ