वीरगन्ज, २३ भाद्र । जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिने अवस्था बन्दै गएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए बाहिरिन सक्ने बताएका छन् ।
उनले जसपा एक्लै चुनाव लड्न तयाररहेको समेत बताएका हुन् । वीरगन्जमा बुधबार सम्पन्न जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले हैसियत अनुसार सिट बाँडफाँड नगरिए एक्लै चुनावमा जानु पर्ने हुँदा त्यसको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिएका थिए ।
मधेश प्रदेशका ३२ मध्ये कम्तीमा आधा सीट नपाए जसपा बाहिरिने तयारी गरेको छ ।
अध्यक्ष यादवले कार्यदलमा रहेका सदस्यहरूमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सीट र पहाड तथा सहरमा समेत गरी २५ सीटको माग गरेका छन् । गठबन्धनले जसपालाई २५ सिट दिनसक्ने अवस्था नभएकाले जसपा बाहिरिने तयारी गरेको स्रोतको दाबी छ ।
कार्यदलमा रहेका जसपाका नेताहरू रामसहाय यादव र रकम चेम्जोङले पनि पार्टीको बटमलाइन सुनाएका छन् ।
जसपाले मधेशमा एक्लै लड्दा पनि १२ सीट जित्ने भन्दै गठबन्धनमा त्यो भन्दा तल झरेर सीट लिँदा समानुपातिक मत पनि घट्ने र उम्मेदवारका आकांक्षी नेताहरु एमाले तथा अन्य पार्टीमा गएर चुनाव लड्ने खतरा उपेन्द्रले देखेका छन् ।
उनले स्थानीय चुनावको आँकडा समेत पेस गर्दै मधेसमा आफ्नो पार्टी कांग्रेस एमालेको हाराहारीमा रहेको बताएका छन् ।
जसपाले मधेश प्रदेशमा कम्तिमा १५ सीट दाबी गरेको छ । त्यस्तै प्रदेश १ को मोरङ, सुनसरी र धनकुटामा एक–एक सीट दाबी गरेको छ ।
वागमतीको काठमाडौंमा एक सीट जसपाको दाबी छ भने लुम्बिनीको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा एक–एक सीट दाबी गरेको छ ।
यदि सत्ता गठबन्धनबाट बाहिरिएको खण्डमा जसपाले नेकपा एमालेसँग गठबन्धन गर्ने समेत तयारी गरेको बताइएको छ । यसअघि नै जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष ओलीसँग भेटेर यस विषयमा छलफल गरेको समेत स्रोतको दाबी छ ।
तपाईको प्रतिक्रिया