जसपामा फेरि विभाजनको कम्पन्न

राजनीति

मधेशवाणी डेस्क
काठमाडौं, २३ मंसिर । प्रतिबन्धित अवस्थामा नेकपा माक्र्सवादीबाट राजनीतिक प्रशिक्षण पाएर एमाले माओवादी पार्टीको राजनीतिक यात्रा गरी मधेशी जनअधिकार फोरमको नेतृत्वमा मधेश आन्दोलनबाट राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा चर्चा बटुलेर फोरमलाई संसदमा पहिलो संविधान सभामा शीर्ष पार्टीहरूको हैसियत बनाएर विभाजन र मिलापको स्वाद चाख्दै हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मंसिर ४मा सम्पन्न निर्वाचनमा उदीयमान जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग आफ्नै निर्वाचन क्षेत्रमा दोब्बर मतबाट पराजित भएपछि एकपटक फेरि विभाजनको कम्पनमा फसेका छन् ।

नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विगठन गरेको राजनीतिक कदमलाई प्रतिगमनकारी भन्दै गठित गबन्धनको एक घटक भई आन्दोलनमा सरिक भएर सम्पन्न निर्वाचनको मनोनयन भन्दा केही समय अघिसम्म सोही गठबन्धनको सरकारमा सामेल जसपाका अध्यक्ष यादव अकस्मात् उही एमालेसँग गठबन्धन बनाएर चुनावमा भाग लिएर आफू लगायतका कतिपय स्थानमा पराजय भोगी जेनतेन समानुपातिक थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको हैसियत जोगाउन सफल भए पनि उनको पार्टीमा विभाजनको कम्पन्न उठेको देखिएको हो ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन लाग्नु अघि हालै मात्र जसपा अध्यक्ष यादवले सार्वजनिक गरेको अभिव्यक्तिको जवाफमा एमालेको सहयोगमा चुनाव जितेका सो पार्टीका वरिष्ठ नेता अशोक राईको भनाइबाट पार्टीमा विभाजनको तरङ ल्याएको हो ।

अध्यक्ष यादवले चुनाव सकिएसँगै नेकपा (एमाले) सँग आफ्नो दलले गरेको सहकार्य सकिएको बताएका थिए ।

गत आइतबार दिउँसो विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताएका थिए ।

साथै उनले भने “हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ ”।

चुनावमा यादव निकटको पराजय र एमालेको सहयोगमा जितेका राईलाई एमालेका नेता कार्यकर्ताले पुरानो पार्टी हैसियतको ललिपप देखाउन थाले पछि राईले यादवको सो अभिव्यक्तिको जवाफमा एमालेसँगको सहकार्य नटुट्ने बताएबाट यो पार्टी फेरि एकपटक विभाजनको साँघार तर्फ बढ्दै गइरहेको पार्टीसम्बद्ध स्रोतको भनाइ रहेको छ ।

यादव निकट नेताहरूले अन्तिम समयमा आएर एमालेसँगको सहकार्य गर्नुले जसपाको पतनोमुखी पराजय भएको सार्वजनिक गर्न थालेका छन् ।

यस्ता अभिव्यक्तिले राई पक्षीय नेताहरू पाटीलाई फुटाएर भएपनि एमाले गठबन्धनमा बसिरहने राजनीतिमा लागेको देखिएको छ ।

मधेश आन्दोलनसँगै उदाएका यादव पक्षीय पार्टीका नेता तथा कार्यकर्ताहरूले एमालेसँगको गठबन्धनलाई चुनाव अघि पनि पचाइरहेका थिएनन् ।

उनीहरूले मधेशलाई हेप्ने नेता ओलीको नेतृत्वमा रहेको पार्टीसँगका तालमेलले आधारभूमि खस्किँदै गएको बताइरहेका छन् ।

उनीहरूका अनुसार महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न नसक्नुमा उनीहरू पनि ओलीलाई सरकार जोगाउन अन्तिम पटकको प्रयासमा सरकारमा सामेल भएर जाने कदम पार्टीका लागि आघात पु¥याएको हो ।

यी दुवै पार्टी छुट्टाछ्ट्टै कि त मिलेर चुनाव लडेको भए पुरानो शक्तिको ठुलो भाग जोगाउन सक्ने सम्भावना मात्रै होइन उनीहरूको राजनीतिमा टेक्ने ठाउँ हुने थियो भनाइ पनि ती पार्टीका कतिपय नेताहरूको रहेको छ ।

जसपा नेता राईका अनुसार चुनाव अघि एमालेसँग भएको लिखित सहमतिमा चुनाव पछि पनि एमालेसँगको सहकार्य हुने प्रतिबद्धता समेत उल्लेख गरिएको छ ।

एमालेसँग पनि सहकार्य हुने प्रतिबद्धता पछाडिको राजनीति भनेको एमाले नेतृत्वमा बन्ने सरकारमा सामेल हुने वा पार्टीको अवस्था कमजोर भए एमालेमा विलय गराउने नीति अवलम्बन गरिने रहेको राई निकट नेताहरूको भनाइ रहेको छ ।

यादव र राईको राजनीतिक प्रशिक्षण कम्युनिस्ट स्कूलिङबाट भएकाले उनीहरूलाई एमालेमा समावेश हुन सजिलो हुनेमा शंका रहेको छैन् । तर मधेश आन्दोलनमा उदाएका र कांग्रेस स्कूलिङ भएकाहरूलाई एमालेमा सामेल हुन सहज नहुने ती पार्टीका नेताहरूको भनाइ छ ।

पार्टी विभाजनको अवस्था आए कि यादवसँग बस्ने छन् कि त ठाकुर राउत तर्फ जाने छन् ।

राईको चुनावमा जितले जसपामा ल्याएको तरङ्गको परकम्प शान्त भएर जाने वा विभाजन नै ल्याउने त्यो आगामी समयमा विकास हुने राजनीतिक क्रमले अझ प्रष्ट पार्ने छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ