काठमाडौं, २१ माघ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले जनमत पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन् ।
डा.राउतको सचिवालयमार्फत् आह्वान गर्दै भनेका छन्, ‘पार्टी प्रवेश गर्न ढिला नगरौं – धेरै नअलमलिऔं – जनमत पार्टी नै एक मात्र भविष्य हो। ढिलो नगरौं, यो ’अन्तिम ट्रेन’ नछुटोस् ।’
उनले गत निर्वाचनमा बिना गठबन्धन, उम्मेदबार र साधनस्रोतको अभाव, प्रहरी प्रशासनको असहयोग र अनेकौं षड्यन्त्रका बाबजूद जनमत पार्टी मधेश र लुम्बिनी प्रदेशमा जसपा, लोसपा, एकीकृत समाजवादी भन्दा ठूलो दल बन्न सफल भएको दाबी गर्दै यो दल अहिले संघीय सरकार, मधेश र लुम्बिनी प्रदेशको सरकारमा समेत सामेल भएको बताएका छन् ।
“यो दल पनि जित्छ ÷ यो दलले पनि सरकार बनाउँछ” भन्ने विश्वास जनता माझ स्थापित भइसकेपछि जनमत पार्टी तीव्रतर गतिमा फैलिरहेको उनको दाबी छ । जनमत पार्टी चाँडै नै जिल्ला, प्रदेश र केन्द्रीय समिति तथा विभाग र मोर्चाहरूलाई पुनर्संरचना गर्ने क्रममा पनि रहेको उनले जनाएका छन् ।
‘त्यसैले पार्टी प्रवेश गर्न चाहनेहरूले धेरै नअलमलिऔं । पटक–पटक भेटघाट गर्न अनुरोध गर्नुभन्दा पनि पार्टी प्रवेश चाँडै गरेर आफ्नो भविष्य सुरक्षित गरौं। पार्टी प्रवेशमा ढिलाइ गर्नु भयो र समितिहरू सबै पूर्ण भइसके पछि तपाईंले खोजेको जस्तो जिम्मेबारी र पद पाउन कठिन पनि हुन सक्छ ।’ डा.राउतले भनेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी प्रवेश गर्दा कति नेता, कार्यकर्ता र जनता लिएर प्रवेश गर्नुहुन्छ, पहिला कुन पार्टीको कुन जिम्मेबारी सम्हाल्दै आउनुभएको थियो, त्यही अनुसार तपाईंले जिम्मेबारी पाउनुहुनेछ ।’
पुनः मेचीदेखि महाकालीसम्म आफैं जिल्ला दौडाहामा निस्किने बताउँदै पार्टी प्रवेश गर्नेहरू सूची बनाएर, आपसी छलफल गरेर, तयार अवस्थामा बस्न उनले आग्रह गरेका छन् ।
‘पटक–पटक हरेक जिल्ला पुग्न समय लाग्छ, त्यही भएर तपाईंको जिल्ला पुगेको बेलामा नै मौका छोपी पार्टी प्रवेश गर्नुहोस्। ढिलो नगरौं, यो ’अन्तिम ट्रेन’ न छुटोस् ।’ उनले भनेका हुन् ।
तपाईको प्रतिक्रिया