कांग्रेसले जुनसुकै बेला प्रधानमन्त्री फाल्न सक्छ : महामन्त्री थापा

राजनीति

राकेश यादव, रौतहट । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगन थापाले मुलुकमा शासन व्यवस्था परिवर्तन गर्ने मुख्य भूमिका निर्वाह गरेका नेपाली कांग्रेसले अवस्था फेरिने कार्य गर्ने भूमिका निर्वाह गर्ने बताएका छन् ।

मेचीदेखि महाकालीसम्मको हुलाकी राजमार्ग अन्तर्गतको संवाद यात्रा अभियानअन्तर्गत शुक्रबार हुलाकी राजमार्गसँग जोडिएको स्थानीय तह परोहा नगरपालिकामा नगर प्रमुख शेख वकीलको दरवाजामा आयोजना गरिएको स्वागत कार्यक्रममा सम्बोधन गर्दै महासचिव थापाले मधेशमा मुख्य समस्या किसानको लागि सिचाई रहेको बताए ।

नेपाली कांग्रेस नेपालमा परिवर्तनको सम्वाहकको रुपमा अघि बढेकोले गुनासो, समस्या सुन्नका लागि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गरिएको जानकारी दिँदै अभियानको क्रममा आएको समस्याको केन्द्रीय कार्य समितिको बैठकबाट सरकारको माध्यमद्वारा सम्बोधन गराउने प्रतिबद्धता जनाए ।

सम्बाद यात्राको क्रममा हुलाकी राजमार्ग निर्माणले विकासमा फड्को मारेको भएपनि सिचाईको आभावले उत्पादनमा निकै कमी आएको उल्लेख गरे ।

नेपाली कांग्रेस संघीय सरकार तथा प्रदेश सरकारमा नेतृत्व गरिरहेकोले सम्बाद यात्राको क्रममा आएको गुनासो, समस्यालाई विश्लेषण गर्दै सरकारको माध्यमद्वारा सम्बोधन गराउने जिम्मेवारी कांग्रेसको रहेको बताए ।

नेपाली कांग्रेसले नै पुष्प कमल दहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएकोले आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेटमा तराई–मधेशमा देखिएको सिचाईको समस्या, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गरिएन भने कांग्रेसले जुनसुकै बेला प्रधानमन्त्री फाल्न सकिने चेतावनी समेत दिए ।

प्रजातन्त्रको लागि भएको संघर्षको केन्द्रबिन्दूको रुपमा रौतहट रहेको र कांग्रेसको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वर्गीय नेता शेख इद्रीस भूमिमा आउँदा हर्षित भएको बताए ।

पूर्वमन्त्री थापाले कांग्रेसले शिक्षा, स्वास्थ्य, कृषि र युवाहरुको रोजगारीको सवालमा गम्भीर भएर अघि बढिरहेको बताउँदै जनताको चाहना अनुसार अवस्था परिवर्तन गर्न नेपाली कांग्रेस नै एक मात्र विकल्प रहेको जिकिर समेत गरे ।

जिल्ला सभापति सुनील कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य अजय बाबू शिवकोटी, मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णा प्रसाद यादव, निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यासी डाक्टर फिरदोश आलम, जिल्ला सचिव रामचन्द्र गिरी, परोहा नगरपालिकाका मेयर शेख वकील लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ