अध्यक्ष तिमिल्सिना र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट

समाचार

3/7/2020

काठमाडौं, २४ फागुन । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत क्वात्रालाई नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले भने,नेपाल र भारतबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ, नेपाल र भारत बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु ।’

त्यसैगरी राजदूत क्वात्राले भेटका क्रममा नेपाल र भारतको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताए ।

उनले दुई देशबीचमा भएका उच्चस्तरीय भ्रमणले नेपाल र भारत छिमेकी मात्र नभई समृद्धीका साझेदार भएको धारणा राखेका थिए ।

राजदूत क्वात्राले दुई देशका संसदबीचको सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्न उच्चस्तरीय संसदीय भ्रमण हुनुपर्ने बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ