अमेरिकाले चीनको ३३ कम्पनी कालोसूचीमा राख्दै

समाचार

5/23/2020

काठमाडौं, १० जेठ । कोरोना भाइरस ‘कोभिड १९’ को विषयमा अमेरिका र चीनबीच तनाव उत्पन्न भएको समयमा अमेरिकाले चीनको ३३ कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ ।

अमेरिकाले चीनले कोरोना भाइरसबारे चाँडो जानकारी नदिएको तथा कोरोनाको खतराबारे विश्वलाई जनकारी नदिएकाले विश्वमा कोरोनाको प्रकोप भयावह बनेको बताउँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकारीहरुले कोरोना चीनमा निर्माण भएको विषयमा अनुसन्धान गरिरहेको बताएका थिए । चीनले अमेरिकी भनाइहरुको खण्डन गर्दै कोरोनाको सूचनामा आफू सँधै पारदर्शी भएको बताइरहेको छ ।

यसबीचमा अमेरिकाले चीनको सेना र चीनको उइगर मुसलमानसँग सम्बन्धित ३३ कम्पनीलाई आफ्नो दशमा कालोसूचीमा राख्न लागेको हो ।

अमेरिकी वाणिज्य मन्त्रालयले एक बयानमा भनेको छ,‘सात कम्पनी र दुई संस्थानलाई कालोसूचीमा राखिएको छ किनभने उनीहरु उइगर समुदायका मानिसको मानवअधिकार उल्लंघनको घटनासँग जोडिएका छन् ।’

चीन सरकारले उइगर मुसलमानलाई विलय गराउने रणनीतिका साथ उनीहरुविरुद्ध गतिविधि संचालन गरिरहेको भनेर प्रतिवेदनहरु धेरैपटक सार्वजनिक भएका छन् ।

मन्त्रालयको अर्को बयानमा दुई दर्जनभन्दा बढी अन्य कम्पनीहरुलाई पनि कालोसूचीमा राखिएको जनाएको छ । ती कम्पनीहरुले चीनको सेनाको लागि सामान आपूर्ति गरेको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ