काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभइ नेपालमै रहेको भनेर दिएको अभिव्यक्तिलाई लिएर भारतीय विदेश मन्त्रालयले कुनै टिप्पणी नगर्ने जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको जन्मभूमि’ बारेमा दिएको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै यसबारेमा टिप्पणी नगर्ने बताए ।
‘भारतको विशाल र समृद्ध सांस्कृतिक विरासत विश्वभर परिचित छ । नेपालको विदेश मन्त्रालयले पनि यसबारेमा स्पष्टीकरण दिइसकेको छ’, उनले भने, ‘हामीले यसबारेमा थप टिप्पणी गर्न जरूरी छैन, म यसबारेमा केही भन्न चाहन्नँ ।’
प्रधानमन्त्री ओलीले आदिकवि भानुभुक्त आचार्यको जन्म जयन्तीका अवसरमा भगवान रामको जन्म वीरगञ्जबाट पश्चिमस्थित ठोरीमा भएको दाबी गरेका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर नेपालमा भारतलाई चिढ्याउने प्रयासका रुपमा टिप्पणी भइरहेका बेला भारतीय विदेश मन्त्रालयले टिप्पणी नगर्ने जनाएको हो ।
तपाईको प्रतिक्रिया