आइसोलेसन सेन्टरलाई व्यवस्थित गरी होटलमा लिँदै आएको चर्को शुल्कको अन्त्य गर्न थर्ड एलायन्सको अपिल

समाचार

8/11/2020

बाँके, २८ साउन । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले बाँके जिल्लामा सञ्चालनमा रहेका आइसोलेसनहरुको मापदण्डका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

थर्ड एलायन्सले एक विज्ञप्ति जारी गर्दै संक्रमितहरुको संख्या बृद्धि हुने क्रम आइसोलेसन थप गर्ने निर्णय स्वागत योग्य भएको उल्लेख गर्दै होटलले आइसोलेसन बनाउनलाई तयार हुनु सकारात्मक पक्ष भए पनि आइसोलेसन सेन्टरमा बस्ने संक्रमितको उपचार तथा अन्य सुविधा प्रदान गर्नु सरकारको दायित्वभित्र परेपनि आइसोलेसन सेन्टरको रुपमा परिणत भएको नेपालगंजको एक होटलले विरामीहरुबाट चर्को रुपमा रकम असुली गरिरहेको पाइएकोले थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।

कोहलपुरमा रहेको मेडिकल कलेजमा बनाइएको आइसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितले वार्डमा खाना, पानी, फोन सुविधा तथा स्वास्थ्यकर्मीको उचित प्रवन्ध नरहेको भन्दै अन्यत्र राख्न माग गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा नेपालगंजस्थित आइसोलेसन सेन्टर बनेको होटेलको आइसोलेनमा सारिएको भएपनि होटेलले दैनिक ४ हजारको दरले रकम माग गरेपछि कोरोनाका कारण तनावपूर्ण अवस्था रहेको व्यक्तिलाई झन तनाब बनाएकोले यसप्रति गम्भीर बन्न थर्ड एलायन्स सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ ।

साथै सरकारको प्रत्यक्ष निगरानीमा रहेका आइसोलेसनहरुलाई थप व्यवस्थित बनाई होटलमा बस्ने बातावरण सृजना हुन नदिन तर्फ ध्यान केन्द्रित गर्दै पिसिआर परीक्षणको दायरा बढाउन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमित व्यक्तिसँग नियम विपरीत रकम असुल उपर गर्नु प्रचलित कानून र सरकारको मापदण्ड विपरीत भएकोले यस्तो कार्य नगर्न नगराउन थर्ड एलायन्सले सम्बन्धित जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै भौतिक दुरी कायम राख्दै विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ पूर्ण रुपमा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी निर्देशनको पूर्ण पालना गरी नागरिक कर्तव्य निर्वाह गर्न अपिल समेत गरेको छ ।

यस्तै मानव अधिकार संरक्षण तथा प्रवद्र्ध केन्द्रकी सूचना अधिकारी पुजा कुमारी बैश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयन गर्न सरकारसँग अपिल गरिन् ।

उनले कोरोना भाइरस (कोभिड–१९) भाइरस संक्रमण फैलिरहेको स्थितिमा हिरासत तथा कारागारमा रहेका थुनुवा र कैदी बन्दीको मानव अधिकार रक्षा गर्न आग्रह गरिन् ।

कारागारमा रहेका थुनुवा, कैदी र बन्दी क्षमताभन्दा अधिक रहेको, खानेपानी, शौचालयसँगै सरसफाईमा समस्या देखिएको र भौतिक दूरी कायम गर्न पनि समस्या रहेको देखिएको जनाएको सूचना अधिकारी बैश्यले बताइन् ।

बाँकेको नेपालगंजमा रहेको कारागारका कैदीबन्दी संक्रमित देखिएकोले काराजगारमा रहेका सबै कैदी बन्दीहरुको कोरोना परीक्षण गर्नेतर्फ ध्यानकेन्द्रित गर्न जरुरी रहेको बताइन् ।

बाँकेमा कोराना संक्रमितहरुको ६५७ पुगेको छ भने ४०५ जना निको भएर घर फर्किसकेका छन् भने २४९ जना आइसोलेसनमा उपचार गराइरहेका छन् । कोरोनाबाट बाँकेमा ३ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ