नेपाल–चीन नाका बन्द हुँदा आयात कोलकाता डाइभर्ट

समाचार

3/2/2020

काठमाडौं, १९ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल–चीनबीचका दुईवटै नाका बन्द भएपछि सामुद्रिक मार्ग हुँदै व्यापार हुन थालेको छ । रसुवा र तातोपानी नाका बन्द हुँदा त्यहाँबाट हुने व्यापार सामुद्रिक मार्ग (कोलकाता)तर्फ डाइभर्ट भएका हुन  । नाका बन्द हुँदा अहिले दुई देशले भारत हुँदै आयात–निर्यात गर्न थालेको व्यवसायीले बताएका छन् । कोरोनाको संक्रमण फैलिनुअघि नै अर्डर भएका र नयाँ अर्डरअनुसारका मालवस्तुसमेत कोलकाता हुँदै आयात हुन लागेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए ।

पछिल्लो दुई महिनामा सामुद्रिक मार्ग हुँदै २३ अर्ब ९९ करोड रुपैयाँको आयात भएको छ भने तातोपानी र रसुवा नाकाबाट ६ अर्ब १६ करोड रुपैयाँको मात्रै आयात भएको भन्सार विभागको तथ्यांक छ ।

तातोपानी र रसुवानाकाबाट खासगरी स्याउ, लसुन, तयारी पोसाक, विद्युतीय उपकरणलगायतका सामग्री आयात हुन्छ भने सामुद्रिक मार्गबाट ठूला मेसिनरी तथा पार्टपुर्जा बढी आयात हुन्छ । अहिले दुवै प्रकृतिका मालवस्तु कोलकाता हुँदै भित्रिन थालेको पौडेलले जानकारी दिए । नेपालमा चीनबाट जीवित पशुपक्षी, माछामासु, कस्मेटिक, चकलेट, बटर, चिज, फूल र फूलका बोट, फर्निचर, इलेक्ट्रोनिक्स, स्याउ, कफी, लत्ताकपडा, जुत्ताचप्पल, मेसिनरी, अलैँची, सोयाबिनलगायत थुप्रै मालवस्तु आयात हुने गरेको छ ।

कोरोना संक्रमणपछि नेपालबाट चीनमा हुने निर्यात सुस्त भएको छ । पछिल्ला दुई महिनामा नेपालबाट चीनमा २० करोड १९ लाख रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ