काठमाडौँ, ५ जेठ । नेपाल–चीन व्यापारिक नाका र सामरिक महत्त्वका उत्तरी सीमावर्ती जिल्लाका आधा दर्जनभन्दा बढी स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) का बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) बस्ने भएका छन् । यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न गृह मन्त्रालयले स्वीकृति दिइसकेको छ ।
सीमा सुरक्षा र व्यापारिक कारोबारलाई लक्षित गरेर ती स्थानमा बीओपी राख्न लागिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले बताए । प्राथमिकता र महत्त्वका आधारमा क्रमशस् बीओपी थप्दै जाने उनको भनाइ छ ।
चीनसँग १५ जिल्लाको सीमा जोडिएकोमा २१ स्थानमा व्यावसायिक नाका सञ्चालन गर्न सकिने अवस्था छ । ‘तत्कालका लागि उत्तरतर्फ ७ वटा नाकामा बीओपी राख्ने र पछि जनशक्ति र साधनस्रोत थपिएसँगै २१ स्थानमा हाम्रो उपस्थिति विस्तार गर्नेगरी खाका बन्दै छ,’ प्रवक्ता श्रेष्ठले भने ।
चीनसँग नेपालको १ हजार १ सय १४ किलोमिटर लामो सीमा छ । तर, ५ महिनाअघि मात्रै संखुवासभामा पहिलो बीओपी स्थापना गरिएको थियो ।
गृह मन्त्रालयका अनुसार रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको लिपिङ, मुस्ताङको कोरला, हुम्लाको हिल्सा, बझाङको धुली, दार्चुलाको तिंकर र ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी राख्न स्वीकृति दिइएको छ ।
ती स्थानमा बीओपी राख्न जिल्लास्थित गुल्म तथा गण तहका युनिटलाई तयारी हालतमा रहन पनि सशस्त्र प्रहरी मुख्यालयले निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया