बुटवल, २८ फागुन । रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाको वडा नंं ११ पीपलडाँडास्थित करिब १४ कट्ठा जग्गामा एक करोड ११ लाख रुपैयाँ लागतमा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
नगरपालिका मातहतमा सञ्चालन हुने केन्द्रमा सर्पदंशका बिरामीको उपचार गर्न नेपाली सेनाको सहकार्यमा एक जना र संघीय स्वास्थ्य मन्त्रालयबाट एकजना गरी दुईजना विशेषज्ञ चिकित्सक रहने छन् ।
केन्द्रको भवनको माथिल्लो तलामा सर्पदंश उपचार केन्द्र र तल्लो तलामा स्वास्थ्य चौकी रहने सैनामैना नगरपालिका वडा नंं. ११ का अध्यक्ष सुनिल मरासिनीले बताए । उपचार केन्द्रबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पासम्मका जनता लाभान्वित हुने केन्द्रका व्यवस्थापन समिति अध्यक्ष मिनप्रसाद घिमिरेले बताए ।
सर्पदंश उपचार केन्द्र निर्माणका लागि २०७२ सालमा श्रीमद् भागवत महायज्ञ आयोजना गरी ६९ लाख रुपैयाँ बचत भएको थियो । केन्द्रको भवन बनाउन सैनामैना नगरपालिकाले २९ लाख ५५ हजार रुपैयाँ, स्थानीय नरिश्वर पाण्डेले तीन लाख रुपैयाँ, कञ्चन गाउँपालिकाले ९८ हजार, गैडहवा गाउँपालिकाले एकलाख र भूपु सैनिक सालझण्डीले ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया