जनकपुरधाम, १६ साउन । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् ।
अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गरिएको बताइएको छ ।
यस्तै सर्वसाधारणलाई पनि अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि अनुरोध गरिएको छ ।
कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै राजगढ गाउँपालिकाले पनि अनिश्चितकालका लागि सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले एक सूचना प्रकाशित गरी अर्को सूचना नआउञ्जेल गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने जानकारी गराए ।
राजविराज नगरपालिकाले भने एक साताअघि नै लकडाउन कडा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन चार महिनापछि अन्त्य भएकै दिन राजविराज नगरपालिकाले समुदायमा कोरोना फैलिएकाले लकडाउन गरेको हो ।
ट्र्याकिङ्ग र ट्रेसिङ्गका आधारमा सम्भावित व्यक्तिको पिसीआर परीक्षण गर्दै जाँदा सङ्क्रमित हुनेको सङ्ख्यामा निकै वृद्धि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
हाल सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ४६२ पुगेको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । भारतसँग सीमा जोडिएको र अन्य छिमेकी जिल्लाहरुबाट पनि मानिसहरुको ओहोरदोहोर भइरहेकाले जिल्लामा सङ्क्रमणको जोखिम अझ बढ्नसक्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया