धनगढी, १० जेठ । सुदूरपश्चिम प्रदेशमा कैलालीको गौरिफन्टा नाका भएर एकै दिन २ हजार ४ सय ८९ मानिस नेपाल भित्रिएका छन् ।
यसरी नेपाल भित्रिएका उनीहरूलाई ¥यापिड टेस्ट गर्दै आ आफ्नो घर पठाइएको छ । तीमध्ये १२ जनालाई कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि थप पिसिआर परीक्षणको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।
पछिल्लो तीन दिनमा ३ हजार ६ सय बढी मानिस भारतबाट भित्रिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । ‘सरकारले लकडाउन भनेको छ । यता मानिसहरू नाकामा आएर ढुंगामुढा गर्छन् । स्पष्ट नीति नहुँदा के गर्ने, नगर्ने भनेर हामीलाई पनि अफ्ठ्यारो भएको छ,’ उनले भने ।
मन्त्री सुवेदीले अहिले पनि ५ सय बढी मानिस गौरिफन्टा नाकामा भेला भएको जनाए । त्यसरी नाकामा आएका मानिसहरूलाई स्थानीय तह र प्रदेश सरकारले समन्वय गरेर घर पु¥याउने काम गरिरहेको छ ।
उनले भारतबाट अझैं ३० देखि ४० हजार नेपाली आउने अनुमान गरिएको बताए । मन्त्री सुवेदीले भारतबाट आउने गरेकाले प्रदेशमा थप जोखिम बढेको बताए । सरकारले स्पष्ट नीति अवलम्बन नगरेकाले यसमा काम गर्न गाह्रो भएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया