कांग्रेस र मधेशवादी पार्टीलाई हेप्ने रणनीतिले दुर्घटना निम्त्याउँछ : जितेन्द्र देव

समाचार

6/22/2020

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवले नेकपा नेतृत्वको सरकारले मुलुकमा दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा आफ्नो मन्तव्य राख्दै सांसद देवले २०६३ सालमा तत्कालीन मधेशवादी दल, एमाले, माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनेको भन्दै उनले अहिले एक्कासी यसलाई उल्ट्याउन खोजिएको बताए ।

शनिबार नेकपा सचिवालय समितिको बैठकले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको थियो । नेकपाको उक्त निर्णयअनुसार नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सात वर्षे प्रावधानलाई नागरिकतासम्बन्धी विधेयक बहुमतले पास गरेको छ ।

उनले नेकपाको निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दंगा भड्काउने र प्रकारान्तरले मुलुकलाई नै विभाजनमा लैजाने खालको भएको टिप्पणी गरेका छन् ।

नेता देवले कांग्रेस र मधेशवादी पार्टीलाई हेप्ने रणनीतिले दुर्घटना निम्त्याउने बताउँदै भने, ‘नेपाली कांग्रेस र अन्य मधेशवादी पार्टीलाई तपाईहरु यसरी हेप्ने, नेपाली कांग्रेस, मधेशवादी दललाई हेपेर तपाई एक्लै यो देश सञ्चालन गर्ने, सम्भव हुन्छ ?’ उनले भने ‘पोलिटिकल एक्सिडेन्ट हुन्छ । सहमति नतोड्नुस् ।’

यस्तै, नेकपा सचिवालयको सो निर्णयविरुद्ध नेकपाकै मधेशी मूलका सांसदहरु विरोध गरेका छन् । नेकपाका नेताहरु मातृका प्रसाद यादव, प्रभु साह, गोपाल ठाकुर लगायतले यसलाई मण्डले राष्ट्रवादीको संज्ञासमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ