काठमाडौं, १८ फागुन । नेपालसँग औपचारिक समझदारी हुनुअगावै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयारी गरेको छ ।
यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेको रेल विभागका अधिकारीले बताएका छन् ।
नेपालले केही महिनाअघि रेलमार्गको डीपीआरबारे भारतलाई औपचारिक प्रस्ताव पठाएको थियो । यसमा भारतले अनौपचारिक रुपमा सहमति जनाए पनि द्विपक्षीय समझदारी भएको छैन ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार भारतले बजेट छुट्याइसकेको र अब केही समयपछि नै भारतीय टोली आएर डीपीआरको काम थाल्ने छ ।
डीपीआरका लागि कति बजेट छुट्याइएको छ भन्ने जानकारी नभएको उनले बताए । महानिर्देशक मिश्रका अनुसार डीपीआरको काम थालिएपछि दुई पक्षबीच औपचारिक समझदारीको पहल हुनेछ ।
भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि फिल्ड वर्क गर्दा पनि द्विपक्षीय समझदारी पर्खेको थिएन । नेपाल र भारतबीच १५ भदौमा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
तर, त्यो भन्दा अगाडि नै फिल्ड वर्क सकिसकेको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए । अध्ययनका लागि भारतीय रेल्वेका कन्सल्ट्यान्टहरु नेपाल आएका थिए ।
यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल)ले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ ।
यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको मिश्रले बताए । भारतसँग जोडिने अन्तरदेशीय यो रेलमार्ग ब्रोडगेजमा बनाउने गरी प्रारम्भिक रिपोर्ट आएको छ । तर, सरकारले यो रेलमार्गलाई स्टान्डर्ड गेजमा बनाइदिन आग्रह गर्दै आएको छ ।
रक्सौलबाट निजगढ हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने अध्ययनले देखाएको छ ।
तपाईको प्रतिक्रिया