कपिलवस्तु, २२ पुस । सरकारले ६ वर्षअघि उखु कृषकहरुलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने भनेको अनुदान रकम जिल्लाका उखु किसानहरुले हालसम्म पनि नपाएपछि फेरि आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
उखुको रकम पाउनका लागि सोमबार कपिलवस्तु किसान संघले इलाका प्रशासन कार्यालय चन्दौटामा ज्ञापन पत्र बुझाएको छ । जिल्लामा किसानले २ करोड ४८ लाख २३ हजार रुपैयाँ उखुको भुक्तानी नपाएको उनीहरुले बताएका छन् ।
जवाभारीस्थित महालक्ष्मी सुगर्स मिलले समयमा सरकारलाई रिपोर्ट नबुझाउँदा हालसम्म पनि कपिलवस्तुका उखु किसान आशैआशमा निराश बनेका हुन् । किसानहरुले पटक पटक आन्दोलन, चक्काजाम, धर्ना दिँदै आएको भएपनि रकम पाएका छैनन् ।
आर्थिक वर्ष ०७१÷०७२ मा कपिलवस्तुका पश्चिमी भेगका किसानले सोही मिललाई दिएको उखुमा प्रति क्वीन्टल रु. २५ का दरले सरकारबाट पाउने अनुदानको रकम हालसम्म नपाएको किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले जानकारी दिए ।
किसानले रकम नपाए अन्दोलन गर्न काठमाडौं जाने तयारी गरेको चौधरीले बताए ।
अन्य जिल्लाका उखु किसानले सरकारबाट उखुको प्रति क्वीन्टल रु.२५ अनुदान पाइसके पनि कपिलवस्तुका किसान भने हालसम्म पनि वन्चित रहेका छन् ।
कपिलवस्तु किसान संघले इलाका प्रशासन कार्यालय चन्दौटामार्फत नोपल सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र महालक्ष्मी सुगर्स मिललाई ज्ञापन पत्र बुझाएका हुन् ।
साउनमा आन्दोलनमा अनशन बसेका किसानहरुलाई भाद्र १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जनप्रतिनिधिहरु लगायतले सरकारबाट रकम निकासा गराउने प्रतिबद्धतापछि स्थगन गरिएको थियो ।
किसान संघले पुस २५ गतेसम्म पाउनुपर्ने रकम निकासा नभए पुनः अन्दोलन गर्न काठमाडौं जाने संघका अध्यक्ष चौधरीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
महालक्ष्मी सुगर्स मिललाई प्रदेश नं २ मा स्थानातन्रण गरिएको छ । जिल्लामा मिल नहुँदा उखु लगाउन समेत किसानहरुले छाडिसेका छन् ।
सरकार तथा व्यापारीबाट किसानहरु लगातार ठगिएपछि किसान उक्त खेती गर्न छाडेका छन् ।
तपाईको प्रतिक्रिया