कोरोनाका कारण उखु किसानहरुको आन्दोलन स्थगित, बैशाख ५ गतेदेखि अनिश्चितकालीन अनसन बस्ने

समाचार

3/16/2020

काठमाडौं, ३ चैत । विश्वभरि महामारीको फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण उखु किसान संघर्ष समिति सर्लाहीको पूर्वघोषित आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।

उखु किसान संघर्ष समितिले चैत ४ गतेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन रिले अनसन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

सरकारले उखु किसानहरुको भुक्तानी दिने/गराउने लिखित समहमति गरेपनि पूरा नभएपछि पुनः काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन रिले अनसन सुरु गर्ने कार्यक्रम स्थगित गरेर बैशाख ५ गतेदेखि गर्ने जनाएका छन् ।

कोरोना विश्वकै लागि चुनौती देखा परिरहेकोले त्यसलाई मध्यनजर गर्दै केही दिनका लागि आन्दोलनको कार्यक्रम स्थगित गर्नु परेको संघर्ष समितिका सचिव हरिराम रायले मधेशवाणीलाई बताएका छन् ।

यसअघि पनि उखु किसान संघर्ष समितिले अनिश्चितकालीन रिले अनसन गरेको थियो । गत पुस १८ गते संघीय सरकार र उखु किसान संघर्ष समितिबीच सहमति भएको थियो ।

सो सहमतिअनुसार माघ ७ गतेसम्म चिनी मिल मालिकहरु र सरकारले दिनुपर्ने अनुदान रकमसहित सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराउने भनिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ