कोरोनाका कारण नेपाली सेनाले केही सीमित व्यक्तिहरुको उपस्थितिमा घोडेजात्रा गर्ने

समाचार

3/15/2020

काठमाडौं, २ चैत । नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहितको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’आयोजना केही सीमित व्यक्तिहरुको उपस्थितिमा मात्र गर्ने भएको छ ।

हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) का कारण मिति आगामी चैत्र ११ गते पर्ने यस वर्षको घोडेजात्रा समारोह नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सीमित व्यक्तिहरुको उपस्थितिमा आयोजना गर्ने निर्णय गरेको छ ।

हाल विश्वका विभिन्न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरे सँगै उक्त भाईरसको जोखिमलाई मध्ये नजर गरि यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरिएको हो ।

उक्त समारोहको विभिन्न टेलिभिजनहरुमार्फत प्रत्यक्ष प्रसारण गरिने नेपाली सेनाले विज्ञप्तिमार्फत् जनाएको छ ।

नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरुको अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ