कोरोनाका कारण माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित

समाचार

3/18/2020

काठमाडौं, ६ चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेको सरकारले माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित गरेको छ ।

आजबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए । उनीहरू मध्ये कतिपय परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए ।

कूल ८६ वटा विषयका करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला(जिल्ला पुगिसकेका थिए । सबै तयारी पुरा भइसकेको भएपनि परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले स्थगितको निर्णय गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।

कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखे ।

त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् ।स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ