कोरोनाविरुद्ध मोदीको प्रस्ताव सार्क नेताहरुद्वारा स्वागत

समाचार

3/13/2020

काठमाडौं, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई गरेको प्रस्ताव सार्क नेताहरुले स्वागत गरेका छन् । मोदीले ट्वीट गर्दै कोरोनाविरुद्ध सार्कका सदस्य राष्ट्रहरु एक भएर लड्न प्रस्ताव गरेका थिए ।

उनले गरेको प्रस्तावमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली, श्रीलंकाका राष्ट्रपति गोतवया राजापक्षे र भुटानका प्रधानमन्त्री लोते छिरिङले स्वागत गरेका हुन ।

उनीहरु सबैले छुट्टाछुट्टै ट्विट गर्दै कोरोनाविरुद्ध सार्क देशहरु एक भएर लड्नु पर्ने बताएका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव सकारात्मक भएको बताउँदै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपालका प्रधानमन्त्री ओलीले सार्क नेतृत्वले कोरोना भाइरसबारे सशक्त रणनीति बनाउन आवश्यक रहेको उल्लेख गर्दै सार्क सदस्य राष्ट्रहरु एकवद्ध भएर यो क्षेत्रका नागरिकको सुरक्षाका लागि काम गर्न तयार रहेको जनाएका छन् ।

यस्तै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली र श्रीलंकाका राष्ट्रपति गोतवया राजापक्षेले पनि मोदीको प्रस्तावको स्वागत गर्दै मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।

भुटानका प्रधानमन्त्री लोते छिरिङले यस क्षेत्रका नेतृत्व एकसाथ अघि बढ्नु पर्नेमा जोड दिएका छन् । उनले भिडियो कन्फरेन्सको प्रतिरक्षा गरिरहेको ट्वीट गरेका छन् ।

सार्क राष्ट्रमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । अहिले नेपाल सार्कको अध्यक्ष राष्ट्र हो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ