काठमाडौं, २० जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीविरुद्ध लड्न केन्द्र सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । अहिलेसम्म प्रदेश सरकारले आफ्नै बलबुतामा कोरोनाविरुद्ध काम गरिरहेको दाबी गर्दै उनले केन्द्र सरकारले प्रदेश २ लाई बेवास्ता गरेको आरोप लगाए ।
‘हाम्रो प्रदेशका स्थानीय तहलाई सोधिदिनुस् केन्द्र सरकारले के सहयोग गरेको छ? त्यतिबेला तपाईंले जवाफ पाउनु हुनेछ– शून्य,’ श्रम रोजगार पत्रकार समूहले गरेको भिडियो कन्फ्रेन्समा मुख्यमन्त्री राउतले भने ।
अहिलेसम्म जति काम भएको छ यो सबै प्रदेश र स्थानीय तहकै जोडबलमा भएको मुख्यमन्त्री राउतको दाबी छ । ‘हामीले सेना, प्रहरीसँग मिलेर क्वारेन्टिन तयार गरेका छौं, अस्पताललाई प्रदेशले नै बजेट दिएको छ, हरेक स्थानीय तहलाई हामीले नै रकम दिएका छौं,’ उनले भने ।
अहिलेसम्म केन्द्र सरकारले प्रदेश २ मा के आवश्यक छ भनेर एक पटक पनि सम्पर्क नगरेको मुख्यमन्त्री राउतले बताए । स्थानीय तहले आफैं क्वारेन्टिन तयार गर्दा मापदण्ड अनुसारको नभएको भन्दै धर्मशाला र सरकारी संरचनामा बेड हालेर काम चलाएको बताए ।
जनशक्ति र श्रोत साधनकै अभावका कारण व्यवस्थित क्वारेन्टिन तयार गर्न नसक्दा त्यहाँबाटै संक्रमण फैलिने खतरा रहेको उनको भनाइ थियो ।
विदेशबाट प्रदेश २ मा झण्डै १० लाख मान्छे फर्किने भन्दै तिनको व्यवस्थापन चुनौतीपुर्ण रहेको उनले बताए । भारतबाट मात्रै ५ लाख युवा फर्किने उनको अनुमान छ । अन्य देशबाट तीन देखि ५ लाख युवा फर्किने मुख्यमन्त्री राउतले बताए ।
‘प्रदेश २ का सबै जिल्लामा खुल्ला सीमा रहेका कारण जहाँबाट पनि प्रवेश गर्ने अवस्था छ । सरकारले तोकेकै ठाउँबाट भारतबाट फर्किनेलाई व्यवस्थित तरिकाले फर्काइने छ र स्थानीय तहको जिम्मा लगाइने छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया