कोरोना त्रासले रौतहटमा खेल प्रशिक्षण बन्द

समाचार

3/19/2020

रौतहट, ७ चैत । कोरोना भाइरसको महामारीका कारण रौतहट जिल्लामा हुने विभिन्न खेलको नियमित प्रशिक्षणसमेत प्रभावित बनेको छ ।

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा नियमित रुपमा प्रशिक्षण हुने फुटबल, कराते, तेक्वान्दो लगायतका खेलको नियमित प्रशिक्षण बन्द गरिएको छ ।

अखिल नेपाल फुटबल संघ रौतहटका महासचिव मधुसुदन धितालले बिहीबार सूचना प्रकाशन गरेर अर्को सूचना नआएसम्मका लागि नियमित प्रशिक्षण तथा कुनै पनि फुटबलको प्रतियोगिता आयोजना नहुने बताएका छन् ।

विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना संक्रमणका कारण रौतहट जिल्ला फुटबल संघले दैनिक बिहान बेलुका हुने नियमित प्रशिक्षण समेत बन्द गरेको जनाएको छ ।

जिल्लाका अधिकांश खेलको नियमित प्रशिक्षण चन्द्रपुर नगरपालिकामा हुने गरेको छ । फुटबलसँगै करातेको नियमिति प्रशिक्षण समेत केही समयका लागि स्थगित गरिएको सितोरियो करांते संघ रौतहटका सह सचिव तथा स्वयमसेवक प्रशिक्षक अर्जुन पहाडीले जानकारी दिएका छन् ।

चन्द्रपुर नगरपालिकामा नियमित बिहान बेलुका प्रशिक्षण हुने सितोरियो कराते, वादोरियो कराते तेक्वान्दो र फुटबलको नियमित प्रशिक्षण बन्द गरिएको हो ।

नियमित प्रशिक्षणमा युवा युवतीको धेरै भिड हुने भएका कारण तत्कालका लागि प्रशिक्षण कार्य स्थगन गरिएको नेपाल फुटबल संघ प्रदेश २ का संयोजक नेपाल कार्कीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ