कोरोना नियन्त्रणका लागि सम्पूर्ण शक्ति लगाउन सुरक्षा अधिकारीहरुलाई मुख्यमन्त्री राउतको निर्देशन

समाचार

3/31/2020

जनकपुरधाम, १८ चैत । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना संक्रमण नियन्त्रणका लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जन धनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका छन् ।

कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको बेलामा सामान्य रुघाखोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेलचक्र्याई गरिरहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूचि तयार गरि प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौं, तपाईहरु सिफारिस गर्नु लाइन्सेन्स खारेजीसम्मको कारबाही हुन्छ ।’

महामारी नियन्त्रणका लागि आवश्यकताअनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझव दिँदै मुख्यमन्त्री राउतले रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राखेको जिज्ञासामा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ–आफ्नो धारणा राखेका थिए भने मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले अहिले विशेष परिस्थितमा गर्नु पर्ने काम र कानूनी अवस्थाबारे आफनो धारणा राखेका थिए ।

बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरुसहितको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणका लागि जिल्लामा गरेका प्रयासहरु, र अगामी दिनमा गर्नु पर्ने योजनाहरुबारे जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ