राजविराज, १३ साउन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोनाको उच्च जोखिममा रहेको सप्तरी जिल्लाको स्थलगत निरीक्षण गरेका छन् ।
कोरोनाको अवस्था, रोकथाम, नियन्त्रण तथा उपचारमा भइरहेको गतिविधि तथा आगामी दिनमा चाल्नु पर्ने कदमबारे बुझ्न सोम सप्तरीको सदरमुकाम राजविराज पुगेका मुख्यमन्त्री राउतले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।
समाजिक विकासमन्त्री नवल किशोर साह, चार वटै सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरुलाई सँगै लिएर राजविराज पुगेका मुख्यमन्त्री राउतले कोरोना संक्रमणको वस्तु स्थिति तथा तयारीबारे सप्तरीका सरोकारवालाहरुसँग छलफल समेत गरेका छन् ।
वर्तमान अवस्थामा विकास निर्माण कार्यलाई समेत थाती राखेर जनताको जीवन जोगाउने कार्य प्रमुख रहेको छलफलको क्रममा बताउँँदै मुख्यमन्त्री राउतले भने, ‘विकास निर्माणभन्दा जनताको जीवन जोगाउनु आवश्यक छ, यसकालागि सम्पूर्ण व्यवस्थापन गर्न प्रदेश सरकार तयार छ । महामारी रोकथाम , नियन्त्रण तथा उपचारमा कुनै प्रकारको कमी हुन दिने छैनौ ।’
स्वास्थ्यकर्मीलाई पीपीई, मास्क, ग्लोभ्स, स्यानिटाइजर, औषधीसहित अन्य अभावलाई कमी हुन नदिन आवश्यक रकमको प्रबन्ध मिलाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै मुख्यमन्त्री राउतले तत्काल सप्तरीमा आवश्यक व्यवस्थापन गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरे ।
न्यून श्रोत साधनका बिच कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्यकर्मी, स्थानीय सरकारका जनप्रतिनिधि एवम् कर्मचारीहरुले निभाएको भूमिकाको उनले प्रशंसा गरे ।
सप्तरीमा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको भन्दै उहाँले पीसीआर परीक्षणको दायरा बढाउनकालागि तत्काल मेसिन थप्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिए ।
सोही क्रममा सप्तरीमा नदी कटान एवम् डुबानको समस्याबारे चर्चा गर्दै उनले बलान नदी नियन्त्रणकालागि तत्काल बजेट उपलब्ध गराउने घोषणा समेत गरे ।
कर्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरी आफ्नो गृह जिल्ला भएको चर्चा गर्दै कुनै पनि हालतमा कोरोना नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
जिल्लामा कुनै पनि उपकरण वा अन्य सामग्रीको अभाव हुन नदिन आफु सचेत रहेको आवश्यक परेको बेला माग गर्न उनले मातहतका निकायलाई निर्देशन दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, नेकपाका सुखराम यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजीत कुमार झा, स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादव, नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य अवधेश कुमार झा, पीसीआर ल्याबकी प्रमुख पूनम यादव लगायतले जिल्लाको अवस्थाबारे मुख्यमन्त्रीलाई अवगत गराएका थिए ।
राजविराजको स्थलगत निरीक्षण पछि मुख्यमन्त्री राउतले हालै जिल्ला अस्पतालमा स्तरोन्नति गरिएको भारदह अस्पतालको निरीक्षण समेत गरेका थिए ।
मुख्यमन्त्री राउतले कोशी व्यारेजको कन्ट्रोल रुममा पुगी नदी पानीको बहाव र सम्भावित खतरा बारे समेत जानकारी लिएका छन् ।
तपाईको प्रतिक्रिया