काठमाडौं, २५ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपले बढ्ने क्रम जारी रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ९ सय ७१ जनामा संक्रमण देखिएको छ ।
भारतमा कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव महाराष्ट्र, गुजरात, राजस्थान र तमिलनाडुलगायतका राज्य रहेका छन् ।
कोरोना संक्रमणका हिसाबले भारतले युरोपेली देश स्पेन र इटालीलाई उछिन्दै पाँचौँ स्थानमा उक्लेको छ । स्पेनमा अहिलेसम्म २ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्पेनमा अहिलेसम्म २७ हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।
स्पेनमा करिब एक लाख ५० हजार जना निको भएका छन् । त्यस्तै कोरोनाबाट प्रभावित युरोपेली मुलुक इटालीमा अहिलेसम्म २ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । इटालीमा ३३ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ भने करिब एक लाख ६५ हजार जना निको भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार अमेरिकामा अहिलेसम्म करिब १९ लाख २० हजार जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै करिब एक लाख १० हजारको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ५ लाख निको भएका छन् । त्यस्तै ब्राजिलमा ६ लाख ७२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । ब्राजिलमा अहिलेसम्म करिब ३६ हजारको मृत्यु भएको छ भने २ लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।
त्यसैगरी रुसमा ४ लाख ५८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । रुसमा ५ हजार ७ सय १७ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ भने करिब २ लाख २० हजार निको भएका छन् ।
चौथो स्थानमा रहेको बेलायमा करिब २ लाख ८६ हजारमा कोरोना संक्रमण देखिएको छ । बेलायतमा अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया