कोरोना भाइरसको त्रास : बन्द हुन थाले रौतहटका हाट बजार

समाचार

3/22/2020

रौतहट, ९ चैत । जिल्लाका बजारमा भिडभाड कम हुँदै गएको छ । स्थानीय तह तथा नेपाल सरकारले भिडभाड नगर्न आग्रह गरेपछि र्रौतहटका बजारमा चहल पहल समेत कम देखिन थालेको छ ।

विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस रोकथामका लागि सरकारले अनाश्वयक भीड जम्मा नगर्न आग्रह गरे लगत्तै स्थानीय तहहरु समेत हलचलमा आएको छ ।

सोही क्रममा रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका सबै हाट बजार समेत बन्द गर्ने निर्णय गरेको हो । हाट बजारमा सर्वसाधारणको भिड रहने भएका कारण चन्द्रपुर नगरपालिकाले यस्तो निर्णय गरेको भएपनि जिल्लाका अन्य स्थानमा हाटबजार लाग्ने क्रम जारी रहेको छ ।

चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले २५ जना भन्दा बढी कुनै ठाउँमा भीड नगर्न सरकारले निर्देशन जारी गरेको आदेश र आग्रहलाई मध्यनजर गर्दै नगरभरि लाग्दै आएको बजार समेत बन्द गर्ने अवस्था आएको बताएका छन् ।

बजारमा अत्यधिक सर्वसाधारणको भीड भएकोले कोरोना रोकथामको दृष्टिकोणले यस्तो गर्न लागिएको बताए । उनले दैनिक उपभोग्य वस्तु तथा तरकारीको लागि कुनै निश्चित अथवा भीड कम भएको ठाउँमा लिनुपर्ने बताएको छ ।

जिल्लाका अन्य स्थानीय तहले समेत हाट बजार बन्द गर्नुपर्नेमा सर्बसाधारणले जोड दिएका छन् । जिल्लामा पछिल्लो समय कोरोनाको त्रास ब्यापक रहेको भएपनि भारतसंग सिमा जोडिएका रौतहटका बजारमा सम्बन्धीत निकायले ध्यान नदिएका कारण भारतीयहरु सहजै रुपमा मदिरा सेवन गर्न नेपाल आउने गरेका छन् ।

रोग लाग्नुभन्दा रोग लाग्न नदिनु राम्रो भन्दै चन्द्रपुर नगरपालिकाले हाट बजार बन्द गर्ने निर्णय गरेको चन्द्रपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद सिग्देलले जानकारी दिएका छन् । यस्तो बिषयमा जिल्लाका अन्य स्थानीय तहले समेत हाट बजार बन्द गर्नुपर्नेमा सर्बसाधारण तथा जानकारहरुले आवाज उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ