काँकरभिट्टा, ५ चैत । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ को संक्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयम्सेवक परिचालन गरेको छ ।
नगरभित्रका विभिन्न संघसंस्थाका ४० प्रतिनिधिको टोलीले बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरुपमा भारततिर नजान अनुरोध गरेको छ ।
मेची उद्योग वाणिज्य संघको अध्यक्षतामा नगरपालिकाले विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको स्वयमसेवक परिचालन समिति गठन गरेपछि उनीहरु सक्रिय भएर नाकामा काम गर्न थालेका हुन् ।
संघका अध्यक्ष ऋषि तिम्सिनाले भने, ‘दैनिक १० हजारभन्दा बढीको संख्यामा भारततिरबाट नेपाल मान्छेहरु आउँदा रहेछन् । पूर्वी नाका मुख्य भएको र यहाँ हेल्थ डेस्कमा रहेका पाँच जना स्वास्थ्यकर्मीबाट मात्र सतर्कता अपनाउन र ज्वरो नाप्न सम्भव नभएपछि हामी लागेका हौँ ।’
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पूर्वी नाका प्रदेश नं १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अपनाउनुपर्ने र सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले समिति गठन गरिएको बताइन् ।
तपाईको प्रतिक्रिया