कोरोना भाइरस रोकथामका लागि उपत्यकाको बढी भिडभाड हुने १६ स्थानमा हात धुनका लागि पानी ट्याङ्की स्थापना

समाचार

3/22/2020

काठमाडौं, ९ चैत । विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाको बढी भिडभाड हुने र जोखिम बढि हुने १६ स्थानमा सर्वसाधरणहरूलाई हात धुनका लागि साबुनसहित पानी ट्याङकी राखेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले माछापुच्छ्रे बैङक संगको सहकार्यमा काठमाडौं, ललितपुर र भक्तपुरको बढी भिडभाड हुने स्थानहरूमा पानी ट्याङ्की राखिएको जानकारी दिए ।

सरकारले कोरोना भाइरस रोकथामका लागि अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरी, बढी भिडभाड हुन नदिने लगायतका कार्यहरू सार्वजनिक गरेको अवस्थामा महानगरीय प्रहरी कार्यालयले आफ्नो तर्फबाट सतर्कता अपनाउँदै नागरिकको सहजताको लागि बैङ्कसँगको सहकार्यमा उक्त कदम चालिएको बताए ।

साबुन पानीले हात धुने, स्यानीटाइजरको प्रयोग र माक्स लगाएर हिडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको राय अनुसार उपत्यकामा सर्वसाधरण नागरिकहरूको सहजताका लागि उक्त कार्य गरिएको बताउँदै सार्वजनिक स्थानहरूमा राखिएको साबुन पानीले हात धुन सबैमा आग्रह गरे ।

कोरोना भाइरसको महामारी नियन्त्रण नभएसमम्मका लागि बढी भिडभाड हुने स्थानहरू रत्नपार्क, बानेश्चर, गौशला,केएमसी अस्पताल सिनामंगल, महाराजगंज चोक , शिक्षण अस्पताल लगायतका स्थानहरूमा आइतबारदेखि नै राखिएको जानकारी दिए ।

यसैगरी प्रसुती गृह थापाथली, टेकु अस्पताल, पाटन अस्पताललगायत ललितपुर र भक्तपुरका बढी भिडभाड हुने र जोखिम बढि हुने स्थानहरूमा भोलीसम्म राखि सकिने जानकारी समेत दिए ।

हरपल आम नागरिकको सेवा र सुरक्षामा हामी तैनाथ हुने छौ भन्दै पोखरेल भन्छन्, “प्रहरी कर्मचारीहरूको लागी माक्स वितरण गरेका छौ, सर्वसाधरण नागरिकको लागी सार्वजनिक स्थानहरूमा सावन सहित को पानी ट्याङकी स्थापना गरेका छौ” ।

हामी तपाईको लागी बाहिर निस्कन्छौ हाम्रो लागी तपाईहरू भित्र बसिदिनु होला भन्दै अत्याबस्यक काममा बाहेका घरभन्दा बाहिर निस्कने र बढिभिडभाडमा जाने नगर्न सबैमा आग्रह गरे ।

हामी आफै सचेत भए मात्र रोगबाट बच्न सकिने भन्दै सरकारलेनै सबै कार्य गरिदियोस् भन्नु भन्दा आआफ्नो ठाउँबाट सकेको उपाय अपनाउनु पर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ