कोरोना भाइरस सम्बन्धी नेपाली सेनाको दुईदिने प्रशिक्षण कार्यक्रम

समाचार

3/19/2020

काठमाडौं, ७ चैत । हाल विश्वमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर राखि जंगी अड्डा परिसरमा नेपाली सेनाका विभिन्न युनिटहरुमा कार्यरत सकलदर्जालाई सहभागी गराई संचालन गरिएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जंगी अड्डा परिसरमा अस्थायी टेन्टहरु खडा गरी नेपाली सेनाका ५० जना स्वास्थ्यकर्मीहरु तथा विभिन्न युनिटहरुमा कार्यरत १३१ जना गरी जम्मा १८१ जना सकलदर्जा सहभागी गराई संचालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा कोरोना भाईरस सम्बन्धी जानकारीमूलक कक्षा संचालन गर्नुको साथै Quarantine Set up, Water Purification, Waste Management, Electric & Plumbing Management, Field Latrine, Infection Prevention & Control कोरोना भाइरस विरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिलाइएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार ५४ वटा टेन्ट खडा गरी नौ वटा कलस्टरमा विभाजन गरी प्रत्येक टेन्टमा दुई जना व्यक्ति रहने गरी तयार गरिएको थियो ।

सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई कोरोना भाईरससम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरी आवश्यकता बमोजिम स्थानीय स्तरमा Quarantine Camp Set up गरी Infection Prevention & Control सम्बन्धी कार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ