जनकपुरधाम, २६ बैशाख । प्रदेश २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि २ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले २ अर्ब रुपैयाँ रकम निकासा गरेको हो ।
चालू आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकारले विनियोजन गरेको कूल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ छ । जसबाट कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि २ अर्ब रुपैयाँ निकासा भएको र खर्च हुने क्रममा रहेको आर्थिक मामिलामा तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्न सामाजिक विकास मन्त्रालय अन्तर्गत ८६ करोड रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १० करोड ४५ लाख रुपैयाँ पठाइएको छ ।
यस्तै, लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई ३३ करोड ७० लाख र भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई ३६ करोड रुपैयाँ निकासा गरिएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १ करोड, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको ४ वटा डिभिजनलाई २५÷२५ लाख रुपैयाँको दरले पैसा पठाइएको सचिव श्रेष्ठले बताए ।
यस बाहेक प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा २५ करोड रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
कोरोना रोकथाम, नियन्त्रण, उपचार काममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक, पत्रकार लगायतका व्यक्तिहरुको ज्यान गएमा ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।
तपाईको प्रतिक्रिया