कोरोना रोक्न प्रदेश २ को कदम प्रभावकारी भएन

समाचार

3/8/2020

जनकपुरधाम, २५ फागुन । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि प्रदेश २ सरकारको प्रयास प्रभावकारी देखिएको छैन र भारतसँग जोडिएका प्रदेश २ का नाकाबाट आउने–जानेमध्ये आशंकितको स्वास्थ्य जाँचका लागि हेल्थ–डेस्क स्थापना गरिए पनि प्रभावकारी देखिएको छैन ।

सप्तरीदेखि पर्सासम्म आठवटै जिल्लाहरूले भारतसँग छोएका नाकाहरूमा हेल्थ–डेस्क राखिए पनि तापक्रम जाँच र कोरोनाबाट बचाउका उपायबारे गरिएको प्रयास प्रभावकारी हुन नसेको हो ।

भारतसँग छोएको मुख्य नाका सिरहाको ठाढी, माडर र बरियारपट्टीमा हेल्थ–डेस्क राखिएको छ । प्रदेशका सरकारी अधिकारीहरुले कोरोना प्रसार नहोस् भनी विशेष सर्तक रहेको दाबी गरे पनि जोखिम तथा सम्भावनायुक्त धार्मिक पर्यटकीय स्थल र विमानस्थलमा आवश्यक सजगता अपनाइएको पाइँदैन ।

भारतबाट आउने व्यक्तिको तापक्रम बढी पाइए वा कोरोनाको आशंका भए के गर्ने भन्नबारे हेल्प–डेस्क प्रष्ट छैन ।

प्रदेश २ मा जनकपुर, सिमरा र राजविराज गरी तीनवटा विमानस्थल छन् । जनकपुरको जानकी मन्दिर, बाराको गढीमाई, सप्तरीको छिन्नमस्ता (सखडा) र कंकालनी मन्दिर भारतीय धार्मिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य हुन् ।

यहाँ हवाई मार्ग र विभिन्न नाका भएर भारतीय तथा विदेशी पर्यटक आउँछन् । राजविराज विमानस्थलमा हेल्थ–डेस्क स्थापना गरिएको छ । तर आवश्यक जाँच उपकरण तथा सामग्री छैनन् ।

छिन्नमस्ता भगवती मन्दिर र कंकालनी मन्दिरमा आउने धार्मिक पर्यटकको स्वास्थ्य जाँचको प्रबन्धसमेत हालसम्म मिलाइएको छैन । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा दुईवटा बेडसहितको आइसोलेसन वार्ड तयार पारिएको छ तर उपकरण तथा सामग्री अभाव छ ।

चीनबाट सुरु भई विश्वमा त्रास फैलाएको कोरोना भाइरस भारतमा पनि देखा परेपछि प्रदेश २ का सबै जिल्लाहरुमा त्रास पैदा भएको छ । तर प्रदेश सरकार छलफल, बैठक, भाषणमै बढी समय खर्च गरिरहेको देखिएको छ ।

प्रदेश २ का आठवटै जिल्लामा हेल्प–डेस्क स्थापना गरी कोरोना नियन्त्रणमा विशेष सतर्कता अपनाइएको प्रदेश सरकारको समाजिक विकासमन्त्री नवलकिशोर साहले दाबी गरे । तर प्रदेश २ का जिल्लाहरूमा तापक्रम जाँच्न प्रयोग हुने ‘थर्मल गन’समेत छैन । हेल्थ–डेस्क छ तर जाँच उपकरण र दक्ष जनशक्ति छैन । हेल्प डेस्क पनि व्यवस्थित छैन ।

थर्मल गन नहुँदा प्रदेश २ मा स्थापना गरिएको हेल्थ र हेल्प डेस्क औपचारिकतामै सीमित भएको छ । भारततिरबाट आउने व्यक्तिको तापक्रम बढी पाइए वा कोरोनाको आशंका भए के गर्ने भन्नबारे हेल्प–डेस्क प्रष्ट छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ