बुटवल, १९ फागुन । प्राविधिक शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ ।
पहिलो चरणमा स्नातक तहमा बीएस्सी सीसीआईटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो । कलेजको सम्बन्धनका लागि नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको छ ।
सम्बन्धन पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने नगर प्रमुख बासुदेव घिमिरेले बताए । समयक्रमसँगै कलेजलाई बहुमुखी कलेजको रुपमा विस्तार गरी अन्य संकायका कक्षा समेत सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।
नगरपालिकाले कलेज भवन वडा नं. १४ को सुपौलीमा निर्माण गर्न थालेको छ । साविक नर्मदेश्वर प्राविको जग्गामा कलेज भवन बनाउन थालिएको हो । सोमबार आयोजित एक कार्यक्रमबीच कलेज भवनको नगर प्रमुख बासुदेव घिमिरेले शिलान्यास गरे ।
५ करोड १७ लाख रुपैयां भवनको लागत अनुमान गरिएकोमा कालिगण्डकी निर्माण कम्पनीले ३ करोड ७७ लाखमा ठेक्का पाएको छ । तीन तलाको भवनमा २४ कोठा हुनेगरी डिजाइन गरिएको छ ।
तपाईको प्रतिक्रिया