काठमाडौं, १६ जेठ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि कालापानीबाट उसको सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन् ।
भारतीय सञ्चार माध्यम द हिन्दूलाई दिएको एक अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् । ज्ञवालीले नेपाल र भारतबीच बल्झिँदै गएको सीमा समस्या छिटै समाधान गर्न सो क्षेत्रमा यथास्थितिको अवस्था सिर्जना गर्नुपर्ने र त्यसका लागि सबैभन्दा पहिले भारतले त्यहाँ तैनाथ गरेको सुरक्षा फौज फिर्ता गर्नुपर्ने बताएका छन् ।
‘भारतले (सुगौली) सन्धिको भावनाअनुरुप अक्षरशः सम्मान गरोस् भन्ने हामी चाहन्छौं । त्यसो गर्ने सबैभन्दा उपयुक्त बाटो भनेकै भारतले कालापानीमा तैनाथ गरेका सुरक्षा फौज फिर्ता गर्ने र सो भूमि नेपाललाई फिर्ता गर्ने नै हो,’ ज्ञवालीले द हिन्दूलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘हामीले त नेपालको भूमिमा सडक निर्माण जस्ता एकपक्षीय काम गरिनु हुँदैनथ्यो र यो कुरा संवादबाटै जतिसक्दो छिटो सुल्झाउनुपर्छ भनेर भनिरह्यौं ।’ उनले नेपालले सो विषय टुंग्याउनका लागि सचिवस्तरीय बैठक गरौं भनी भनिरहँदा पनि त्यसो हुन नसकेको बताएका छन् ।
उनले नेपाल–भारतबीचको अत्यन्त गहन सम्बन्धप्रति गौरव हुँदाहुँदै पनि भारतले गत नोभेम्बरमा एकपक्षीय रुपमा नेपालको भूमि समेत समेटेर नक्शा जारी गरी नेपाललाई निराश पारेको बताएका छन् । त्यसले नेपाल र भारतबीच सन् १९९७ देखि नै यसबारे प्रधानमन्त्री तहमा भएका समझदारीलाई तोडेको समेत उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया