गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

समाचार

5/27/2020

कञ्चनपुर, १४ जेठ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डा चौकी नाकाबाट सुरक्षा सर्तकता अपनाएर नेपालीलाई भित्रिन दिने निर्णय गरेको थियो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बेलुकीसम्म नेपालीहरु फर्किने क्रम जारी रहेको बताए ।

प्रशासनले बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म भारतबाट अलपत्र परेका र समस्यामा रहेका नेपालीलाई आउन दिने जनाएको छ । भारतीय सुरक्षाकर्मीहरु नेपाल–भारत सीमा क्षेत्रसम्म नेपालीलाई पु¥याएका थिए ।

उनीहरुको गड्डाचौकी नाकामा नेपाली सेना र जनस्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेपछि थप व्यवस्थापनका लागि भन्सार कार्यालय परिसरमा राखिएको थियो ।

भन्सार परिसरमा भोकै बसेका नागरिकलाई कञ्चनपुरका युवा व्यापारी तथा व्यवसायीहरुले खाना र पानीको प्रबन्ध मिलाएका थिए । नेपाली सेनाको सीमा नाकामा सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले खाना र पानी वितरण गरेको थियो ।

उता गड्डा चौकी नाका खुलेसँगै सीमावर्ती भारतीय बजारमा नेपाली आउने क्रम बढेको छ । कञ्चनपुरको ब्रह्मदेव, दोधारा चादँनीलगायतका सीमानाका छलेर नेपालीहरु भारतबाट आउने क्रम बढेपछि स्थानीय प्रशासनले गड्डा चौकी नाकाबाट आवागमन सुचारु गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ