कपिलवस्तु, ६ आसार । वैज्ञानिक बन व्यवस्थापनमा अव्वल गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिको नमुना योजनाहरु शुरु गरेको छ ।
जिल्लाको पश्चिम तीन स्थानीय तह विजयनगर, शिवराजका केही वडा तथा कृष्णनगर सीमासम्म फैलिएको गौतमबुद्ध साझेदारीले यस आर्थिक वर्षमा १९००० क्युव फिट काठ र ५५ चट्टा दाउरा उत्पादन गरि वितरण गरिसकेको अध्यक्ष जानकी प्रसाद यादवले जानकारी गराएका छन् ।
विजयनगर गाउँपालिकाको उज्जवलपुरमा यसै वर्ष नै छ कोठे भवन ३० लाखका लागतमा बनाईदै छ भने ३ लाखमा बनाईसकेको अध्यक्ष यादवले बताएका छन् ।
त्यहीं गाउँमा २.४७ हे. जग्गामा अतिक्रमण हटाएर स्थानिय कृषकहरुका लागि सिचाई गर्न मिल्ने पोखरी निर्माण गरिएको छ । हाल जानकी यादव नेतृत्वको वन व्यवस्थापन समितिले ७ लाखको बजेटमा विजयनगर गाउंपालिका वडा १ को नेवलागंजमा ३ हे. को अमहवा ताल, नौडिहवामा ५ हे. को कल्याणकोट ताल र २ हे.को अर्काे एउटा पोखरी नेवलागंजमा निर्माण सकिन लागेको छ ।
गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिद्वारा बनाइएका पोखरीहरुलाई पर्यटकीय व्यवसायका रुपमा पनि बिकास गर्दै लैजाने अध्यक्ष यादवले बताए ।
गत वर्षमा वनजंगल र वन्यजन्तु संरक्षणमा विशेष जोड दिएको थियो तर यस वर्ष वन उपभोक्ताहरुलाई साझेदारीकै साधनस्रोतले सिंचाई, सडक र व्यवसायमा समेत सहयोग गर्ने उद्देश्यले यी खालका योजना शुरु गरिएको हो ।
उनले आगामी वर्षहरुमा पनि साझेदारी सँगसँगै समुदाय लिएर जाने मेरो उद्देश्य रहेको बताएका छन् । स्थानीय तहहरुले बनाउने योजनाहरुमा सतही सिचाइ, पर्यटनलाई महत्व नदिएका कारणले आफ्नो क्याचमेन्ट क्षेत्रभित्र सिचाई समस्या कम गर्दै लग्ने र कुल ३०० देखि ५०० हेक्टर खेतीयोग्य जग्गालाई बांध बनाएर भए पनि पानी पुर्याउने मेरो लक्ष्य रहेको अध्यक्ष यादवको भनाई छ ।
पर्यावरण संरक्षण तथा वनजन्य उत्पादहरुको संरक्षण गर्दै आएको साझेदारी वन व्यवस्थापन समितिले सिंचाई लगायत माछा पालन समेतमा सहकार्य गरेकोमा नेवलागंजबासी खुसी छन् ।
तपाईको प्रतिक्रिया