काठमाडौं, ९ चैत । गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।
गृहमन्त्रालयमा भएको भेटवार्ता मुख्यतः कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न दुई मुलुकबीच सीमानाकालाई व्यवस्थित गर्ने विषयमा केन्द्रित रहेको थियो ।
कोरोना भाइरस विरुद्धको लडाईमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको क्वात्राले बताए । नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा गृहमन्त्रालयको राय लिएर निर्णय गर्न भारत तयार रहेको उनको भनाइ छ ।
नेपाल–भारत सीमाबाट महामारी नफैलाउन दुवै देशबीच सहकार्य हुनुपर्नेमा थापाले राजदुत क्वात्रासँग जोड दिएका थिए । भेटमा विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकबीच सहकार्यको आवश्यकतामा जोड दिइएको थियो ।
राजदूत क्वात्राले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफूले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी दिए ।
तपाईको प्रतिक्रिया