चिकित्सक र स्वास्थ्यकर्मीको टोली वीरगन्ज पठाउन माग

समाचार

7/30/2020

वीरगन्ज, १५ साउन । पछिल्लो समयमा पर्सामा कोरोनाको संक्रमण बढ्दै गएपछि प्रमुख राजनीतिक दलअरुले संघीय सरकारसँग कारोना संक्रमण नियन्त्रण गर्न विज्ञ सहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली माग गरेका छन् ।

पर्साका स्थानीय राजनीतिक दल, प्रदेश सांसद, नागरिक समाजका अगुवाहरुको बिहीबार बसेको बैठकले विज्ञ सहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली पठाउन केन्द्र सरकारसँग माग गरेका हुन् ।

बैठकले कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै चिकित्सक र स्वास्थ्यकर्मीको टोली तत्काल वीरगन्ज पठाइ सम्पूर्ण व्यवस्थापन गरिदिन संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको हो ।

कोभिड संक्रमण दिनहुँ देखिन थालेकाले वीरगन्जमा अहिले भएको कोभिड विशेष अस्पतालमा बेडको अभावमा भर्ना हुन नपाएर संक्रमित उपचारबाट बन्चित भएका छन् ।

कोभिड संक्रमितका लागि थप कोभिड अस्पतालको अत्यावश्यक भएकोले नेसनल मेडिकल तथा शिक्षण अस्पताल, बयोधा अस्पताल, वीरगन्ज हेल्थ केयर अस्पताल लगायत निजी अस्पतालमध्ये कुनैलाई लिएर अविलम्ब कोभिड अस्पतालको व्यवस्थापन र सञ्चालन गर्न संघीय सरकारसँग बैठकले माग गरेको नेकपाका प्रतिनिधि महेश दासले बताए ।

यसैगरी नारायणी अस्पतालको बन्द सेवा स्वास्थ्य सुरक्षा अपनाएर सुचारु गर्न एवं नारायणी अस्पताललाई जनरल अस्पतालकै रुपमा सुचारु राख्न स्वास्थ्य मन्त्रालयसँग आग्रह समेत गरिएको छ ।

कोरोना संक्रमितको मृत्यु पछि सदगतमा स्थानीयले अवरोध गर्न थालेपछि विद्युतीय शव दाह गृह स्थापनाको पहल गर्ने बैठकले निर्णय गरेको छ । सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर गरिने शवदाहमा कोही कसैले विरोध नगरिदिन समेत बैठकले अनुरोध गरेको नेकपाका दासले जनाए ।

साउनयता पर्सामा दुई सय ३ जना नयाँ संक्रमित थपिएका छन् । सात जनाको मृत्यु भइसकेको छ । कोरोना अस्पतालको आइसियुमा ४ जना उपचार गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ