काठमाडौं, २९ चैत । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र उपचारका लागि चौधरी फाउन्डेसनले ठूलो संख्यामा नागरिक आवतजावत हुने भारतसँगका सीमावर्ती प्रदेशमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।
फाउन्डेसनले सुदूरपश्चिम प्रदेशका धनगढी, डँडेलधुरा, दार्चुला र बैतडी जिल्ला अस्पतालमा एन ९५ मास्क, स्यानिटाइजरसहितका व्यक्तिगत सुरक्षा (पीपीई) र उपचार सामाग्री उपलब्ध गराएको छ ।
त्यस्तै, कर्णाली प्रदेशका चौरजहारी (रुकुम पश्चिम) र कर्णाली प्रादेशिक अस्पतालमा पनि यी सामग्री हस्तान्तरण गरिएको छ । सुरक्षा सामग्री ग्रहण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।
यस्तै फाउन्डेसनले प्रदेश २ का मुख्यमन्त्री र सरकारसँग नजिकको समन्वय कायम गरी जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा अस्पताललाई थप सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
सहयोग ग्रहणपछि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएका नागरिकका कारण संवेदनशीलता बढेको भन्दै गुणस्तरीय सुरक्षा सामग्री उपलब्ध गराएकोमा फाउन्डेसनप्रति आभार व्यक्त गरे ।
फाउन्डेसन अध्यक्ष विनोद चौधरीले सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरूले नागरिक सुरक्षामा थोरै भए पनि योगदान गर्न पाउँदा सन्तोष लागेको बताएका छन् ।
फाउन्डेसनले यसअघिसरकारका स्वास्थ्यमन्त्री माननीय भानुभक्त ढकाललाई १ हजार ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको थियो ।
तपाईको प्रतिक्रिया