काठमाडौं, १० असार । चिनियाँ अतिक्रमणमा परेका ६४ हेक्टरभन्दा बढी नेपाली भूभाग फिर्ता ल्याउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
बुधबार नेपाली कांग्रेसका सांसदहरु देबेन्द्र राज कँडेल, सत्यराम शर्मा खनाल र संजय गौतमले चीनको अतिक्रमणमा परेको नेपालको भू–भागलाई कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनका लागि संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
नेपालको निशान छापमा अंकित नेपालको भौगोलिक, राजनीतिक नक्सा अनुसार नेपाल र चीन बिच १४१४.८८ किलोमिटर सीमाना रहेको र ९८ वटा सीमा स्तम्भहरु मध्ये केही सीमा स्तम्भ हराएका र केही नेपाल भित्र सारिएका छन् । नेपालका विभिन्न जिल्लाहरु दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हेक्टर भन्दा बढी भू–भाग अतिक्रमणमा परको छ ।
रखाको सीमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुको नम्पा भञ्ज्यानमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको अवस्थामा छ। गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपाल भित्र सारेकोले उत्तरी गोरखाको रुक गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधुरी चीनको स्वसाशित क्षेत्र तिब्बतमा पर्न गाएको छ । त्यस्तै दार्चुलाको जीउजीउ भन्ने स्थानका १८ घर समेत चिनिया अतिक्रमणमा परेका छन् ।
संकल्प प्रस्तावमा भनिएको छ, ‘समग्रमा नेपालको भूभाग चीनको अतिक्रमणमा परेको हुनाले ती भू(भागलाई कुटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउनका लागि र त्यहाँको स्थिति एवं वास्तविक अतिक्रमणमा परेका भू(भागहरु र गाउँ समेतको अवस्थाको सम्बन्धमा सत्यतथ्य सदनलाई जनकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्नका लागि यो संकल्प प्रस्ताव पेश गरेका छौं ।’
तपाईको प्रतिक्रिया