चीनले गल्ती सच्यायो–सगरमाथा नेपाल र चीनको सीमा

समाचार

5/10/2020

काठमाडौं, २८ बैशाख । चिनियाँ सञ्चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकामा सच्याएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै सगरमाथा नेपाल र चीनको सीमा रहेको जनाएको छ ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले गरेको ट्विटमा नेपाल र चीन सीमामा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा १ मेको शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको जनाएको छ ।

यसअघि २ मेमा सीजीटीएनले चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको उल्लेख गरेको थियो ।

यसअघि सगरमाथाको उचाइ सर्भे र म्यापिङका लागि चीनले ५३ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने बताएको थियो । लामो समयदेखिको सगरमाथाको उचाइसम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो ।

नेपालमा सगरमाथा भनिएको र तिब्बतमा कोमोलोङ्मा भनिएको यो हिमाल चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाइ चट्टान भएसम्मको भागलाई मान्ने अथवा हिउँको चुचुरोलाई मान्ने भन्ने विषयमा विवाद छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ